१५ अर्बको कारोबार हुँदा ब्रोकरले एकैदिन ८ करोड कमिसन बुझे, नेप्सेको भागमा २ करोड
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा १४ अर्ब ७६ करोडको कारोबार भयो ।
नेप्सेमा बिहीबार कारोबारले नयाँ रेकर्ड राखेको हो । सेयर बजारमा कारोबार बढ्दा र सूचक बढ्दा लगानीकर्तासँगै ब्रोकर,नेप्से तथा धितोपत्र बोर्डले पाउने कमिसन समेत बढेको छ । यसले गर्दा ब्रोकर,नेप्से र धितोपत्र बोर्डमा कार्यरत कर्मचारीको पाउने बोनस समेत बढ्ने देखिन्छ ।
बिहीबारको कारोबारबाट लगानीकर्ताले १० करोडभन्दा बढी रकम कमिसन तिरेका छन् । धितोपत्र बोर्डले कारोबारको रकम अनुसार ब्रोकर कमिसन लगाएको हुन्छ । यसको औसत निकाल्दा ८ करोड कमिसन ब्रोकरले लिएका छन् ।
तर,औसत रुपमा हेर्दा बिहीबारको कारोबारबाट ८ करोड कमिसन ५० वटा सेयर ब्रोकरले पाएका छन् । यसरी औसतमा एउटा ब्रोकरको भागमा १६ लाख रुपैयाँ हुन्छ ।
नेपाल स्टक एक्सचेन्जले २ करोड रुपैयाँ बिहीबारको सेयर कारोबारको कमिसनबाट पाएको छ । ४५ लाख रुपैयाँ कमिसन धितोपत्र बोर्डले पाएको छ ।
यसबाहेक ३५ लाख रुपैयाँ सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पाएको छ । सेयर बेच्दा हुने नाफामा सरकारले भने पूँजीगत लाभकर लिन पाउँछ ।