राष्ट्र बैंकको निर्देशकपछि प्रि-ओपिनङमा ३२ अंकले घट्यो नेप्से परिसूचक
मंगलबार राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनको असर सेयर बजारमा देखिएको छ ।
साताको अन्तिम दिन बिहीबारको प्रि-ओपिनङ सेसनमा नेप्से परिसूचक ३२ अंकले घटेर २७८४.५९ अंकमा झरेको छ ।
प्रि-ओपिनङमा १२९ वटा कम्पनीको कारोबार भएको छ । जसमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २२ कम्पनीको सेयर मूल्यस्थिर छ ।
प्रि-ओपिनङमा सेयर मूल्य बढ्ने कम्पनीमा एचडीएल, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, सूर्योदय लघुवित्त, छ्याङदी हाइड्रोपावर, श्री इन्भेष्टमेन्टलगायतका छन् ।
साथै बढी गुमाउने कम्पनीहरुमा गरिमा विकास लघुवित्त, समता घरेलु लघुवित्त, सामूदायिक लघुवित्त, गणपति माइक्रोफाइनान्स, गुँरास लघुवित्त, इन्फिनिटी लघुवित्त, सामूदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, डेस्प्रोस्क लघुवित्त छन् ।
केन्द्रीय बैंकले बैंकहरूलाई लघुवित्त कम्पनीको सेयर खरिदमा रोक लगाएको छ भने यसअघि खरिद गरेको सेयर आगामी पुस महिनासम्म बिक्री गरिसक्न निर्देशन दिएको थियो ।
साथै मंगलबारको परिपत्रमा केन्द्रीय बैंकल बैंक तथा वित्तीय संस्थाहरुलाई दास्रो बजारमा लगानी गर्न कडाइ गरेको थियो । नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन ।
‘सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्,’ राष्ट्र बैंकले भनेको छ ।
त्यसैगरी खरिद गरेको एकवर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । यसअघि बैंकहरुले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।