खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीलाई आग्रह
काठमाडौं । नेपाललाई खोप उपलब्ध गराइदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि जिन पिङसँग टेलिफोन सम्वाद गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार बुधबार मध्यान्न उनीहरुबीच सम्वाद भएको हो । राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराइदिन आफना समकक्षीसँग आग्रह गरेको स्रोतको भनाइ छ ।
नेपालले यसअघि नै चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ८ लाख डोज खोप अनुदानमा प्राप्त गरिसकेको छ ।
चीनले संसारका अन्य देशलाई खोप उपलब्ध गराइरहेको सन्दर्भमा नेपालको तर्फबाट पनि राष्ट्रपतिकै तहमा खोप उपलब्ध गराउन आग्रह गरिएको हो ।
राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालका अनुसार कोरोनाका कहरमा परेको मुलुकलाई खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले आफना चिनियाँ समकक्षीसँग आग्रह गरेकी हुन् ।
जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए । राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपतिले नेपाल जस्तो अत्यन्तै नजिकको मित्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए ।
यस्तै, राष्ट्रपति भण्डारीले आजै भारतीय राष्ट्रपतिसँग पनि खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार समेत गरेकी छन् ।