ऊर्जा मन्त्रालयले भन्यो- निफ्राको कम्पनीलाई विद्युत् व्यापारका लागि अनुमति दिन्छौं
काठमाडौं । सरकारले नेपाल पूर्वाधार बैंक (निफ्रा)को सहकार्य गरेको कम्पनीलाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ ।
सेजनले आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको उल्लेख गरे ।
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुृमति दिन अस्वीकार गरेको भन्ने चर्चाकाबीचमा सरकारले सो कम्पनीलाई पनि अनुमति दिन लागेको हो ।
सहसचिव भेटवालले भने, ‘जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ । त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ ।’
ऊर्जा उद्यमीहरुको लगानीमा विद्युत् व्यापार कम्पनी स्थापना गरेका छन् । यस्तै प्राधिकरणले समेत विद्युत् व्यापारका लागि छुट्टै कम्पनी स्थापना गरेको छ ।
सहसचिव भेटवालले प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताए । ऊर्जा उद्यमीको पहलमा नेपाल पावर एक्सचेञ्ज लिमिटेड नामक कम्पनी सन् २०१८ मा नै स्थापना भएपनि ऊर्जा मन्त्रालयले अनुमति दिएको थिएन ।