एसियाली पूर्वाधार बैंकले बंगलादेशलाई दियो २६ करोड डलर ऋण



एजेन्सी । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ । सो बैंकले बंगलादेशलाई उपलब्ध गराएको यो हालसम्मकै ठूलो ऋण सहयोग हो ।

त्यस्तै, बंगलादेशमा निर्माण हुन लागेको यस किसिमको पुल समेत यो पहिलो हो । बेइजिङस्थित एआईआईबीको कार्यालयका अनुसार केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ ।

यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।

पुलको निर्माण सम्पन्न भएपश्चात् उत्तरी क्षेत्रका करिब १ करोड १० लाख मानिसलाई स्थानीय र क्षेत्रीय यात्राका लागि ठूलो मद्दत पुग्ने एआईआईले जनाएको छ ।

त्यसबाट व्यापार बिस्तार तथा क्षेत्रीय सम्पर्क सञ्जालको विस्तारमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । नेपालमा भने सो बैंकबाट ऋण लिने विषयमा राम्रै चर्चा परिचर्चा भएपनि हालसम्म कुनै काम हुन सकेको छैन ।

एक विदेशी जलविद्युत् आयोजनामा सो बैंकले ऋण लगानी गरेको भएपनि हालसम्म कुनै पनि काम शुरु हुन सकेको छैन ।


क्लिकमान्डु