सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, स्वाव रेसियो ९५ प्रतिशत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति भएको छ । यसका लागि आज दुबै कम्पनीबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
बैंकका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आ-आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरु गरिनेछ बैंकको भनाइ छ ।
दुबै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको छ ।
२०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।
हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् ।
बैंकले सातवटै प्रदेशमा आफ्नो बलियो उपस्थिति बनाउँदै लगेको छ । प्राप्तिपछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुग्नेछ ।
बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडी बढाएको हो ।
सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् ।
सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।
प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव-संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।