किसान- २ परियोजना अन्तर्गत कृषि विकास रणनीति तयार हुँदै
काठमाडौं । प्रदेशस्तरमा कृषि क्षेत्रको विकासको सन्दर्भमा नेपालमा नयाँ आयामको शुरुवात भएको छ । यसको सुरुवात लुम्बिनी प्रदेशबाट गरिएको छ ।
लामो समयदेखि छलफलमा रहेको तथा आवश्यकता महशुश गरिएको प्रदेशस्तरिय कृषि विकास रणनीति कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाई तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बीनि प्रदेश र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग अन्तर्गतको किसान- २ परियोजनाको संयुक्त पहलमा जेठ ९ गते भर्चुअल किक अफ बैठक समपन्न गरी कार्य प्रारम्भ गरिएको हो ।
देशमा संघीयता लागू हुनु पूर्व तयार भई कार्यान्वयनमा आएको कृषि क्षेत्रको मूल नीतिको रुपमा रहेको कृषि विकास रणनितीमा समावेश भएका विषयहरुलाई प्रदेशस्तरमा त्यस क्षेत्रको सम्भाव्यता र आवश्यकता अनुसार विस्तृतिकरण गर्नको लागि यो तयारी गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशको सामाजिक आर्थिक भौगोलिक जैविक एवं कृषि जैविक विविधता तथा सम्भावना र चुनौतिहरुलाई प्राथमिकतामा राखि प्रदेशको लक्ष्य उद्देश्य हासिल गर्न सघाउ पुग्न सहयोग हुनेदेखि दस्तावेज निर्माणको शुरूवात गरिएको मन्त्रालयले जनाएको छ ।
प्रस्तावित प्रदेशस्तरिय कृषि विकास रणनीतिले समग्र प्रदेशको वर्तमान कृषिको अवस्था सिंहालोकन गर्ने, तिनै तहका सरकारका नीतिहरुको रिभ्यू गर्ने राष्ट्रिय लक्ष्य र यसलाई परिपूर्तीका लागि आवश्यक पर्ने क्षेत्रगत रणनीति,उद्देश्य, नीति, कि माइलस्टोन र आवश्यक आर्थिक र भौतिक श्रोतको रणनितिक मार्गचित्र प्रस्तुत गर्नेछ ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीले संविधानमा उल्लेखित कृषि क्षेत्रका संघ प्रदेश र स्थानीय तहको काम कर्तव्य र अधिकारको कार्यान्वयन तथा संघ र स्थानिय तहका नीति कार्यक्रम, ऐन तथा प्राथमिकताहरुलाई सहजिकरण गर्न यो रणनितिले महत्वपूर्ण भूमिका राख्ने विचार व्यक्त गर्दै तीन महिनाभित्र तयार गर्न अनुरोध गरे ।
यो कार्यको थालनी गर्न सहयोग गर्ने प्रदेश मन्त्रालय, विकास साझेदार तथा अन्य सरोकारवालाहरुलाई नविनतम कार्यलाई प्राथमिकतामा राखेर काम अगाढी बढाउन अनुरोध गरेका छन् । बैठकबाट लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्व र यूएसएआइडी एफटीएफ किसान आईआईको आर्थिक एवं प्राविधिक सहयोग हुने गरी एयाड्स तयारी समिति समेत गठन गरिएको छ ।