काठमाडौं उपत्यकामा बैंक तथा वित्त कम्पनीले ६ वटा शाखाबाट मात्रै सेवा दिन पाउने



काठमाडौं । अब उपत्यकाका ३ जिल्लामा बैंक तथा वित्त कम्पनीले ६ वटा शाखा कार्यालयमात्र सञ्चालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयको आग्रह पछि नेपाल राष्ट बैंकले केन्द्रिय कार्यलयसँगै ६ वटा शाखा कार्यालयबाट मात्र सेवा दिन बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको हो ।

बैंकिङ कारोबार गर्न तथा गराउन बैंक तथा वित्त कम्पनीमा कर्मचारी र सेवाग्राहीको बढ्दो भिडका कारण कोभिड संक्रमण थप नबढोस् भनेर सो निर्णय गरिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘स्थानिय प्रशासनबाट समेत बैंकिङ क्षेत्रबाट भिडभाड बढेको गुनासा आएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई पुर्ण रुपमा बन्द गर्न नमिल्ले हुँदा सकेसम्म न्यून संख्याका शाखामार्फत बैंकिङ सेवा सुचारु गर्नलाई बैंक तथा वित्त कम्पनीलाई भनिएको छ ।’

उनका अनुसार आइतबारदेखि उपत्यका ३ जिल्लाहरुमा वाणिज्य बैंकहरुले आफ्ना शाखा कार्यालयहरु भक्तपुरमा १ वटा, ललितपुरमा २ वटा र काठमाण्डौंमा ३ वटामात्र, विकास बैंकहरुले भक्तपुरमा १ वटा, ललितपुरमा १ वटा र काठमाण्डौंमा २ वटा, फाइनान्स कम्पनीले भक्तपुरमा १ वटा, ललितपुरमा १ वटा र काठमाण्डौंमा १ वटा मात्रै सञ्चालन गर्नु पाउने छन् । यी जिल्लामा रहेका आफ्ना रहेक शाखा कार्यालयबाट बैंक तथा वित्त कम्पनीले आलोपालो गरेर सेवा सुचारु गर्न सक्नेछन् ।

शाखा कार्यालयमा भने कर्मचारीको सीमा तोकिएको छैन तर, केन्द्रिय कार्यालय भने २० प्रतिशतमात्रै कर्मचारीबाट साताको ६ नै दिन सेवा दिन सक्ने उनले जानकारी दिए ।

‘अहिलेसम्म बैंक तथा वित्त कम्पनीले २५ प्रतिशत कर्मचारीबाट आवश्यकता अनुसार अधिकांश शाखा कार्यालयबाट सेवा सुचार गरिरहेका थिए,’ उनले भने, ‘यसले गर्दा कर्मचारीसँगै सर्वसाधारण समेत कोरोनाबाट संक्रमित हुन सक्ने सम्भावना बढी देखिएको हुँदा अत्यावश्यक बैंकिङ सेवाका लागिमात्र बैंकिङ सेवा दिन÷लिनका लागि उपत्यकाका जिल्लाका हकमा सो सर्कुलर गरिएको हो ।’

बैंक तथा वित्त कम्पनीले साताभरमा सुचारु गरिने शाखा कार्यालय र कर्मचारीको विवरण भने शुक्रबार नै आ–आफ्नो बैंकको वेव साइटमा प्रकाशित गर्नु पर्नेछ । सोको निगरानी भने स्थानिय प्रशासन, राष्ट्र बैंक नियमन विभाग, सुपरिवेक्षण विभाग र बैंकर्स संघले गर्ने उनले जवानकारी दिए ।

हालसम्म अधिकांश बैंक तथा वित्त कम्पनीले ११ बजेदेखि २ बजेसम्म बैंकिङ सेवा सुचारु गरिरहेका छन् । न्यूनतम शाखाबाट सेवा दिँदा आवश्यकता परेमा कार्यालय समय भने बिहान १० बजेदखेखि साँझ ५ बजेसम्मै गर्न सकिने उनले बताए ।

केन्द्रिय बैंक नियमन विभागले बैंक तथा वित्त कम्पनीलाई सो निर्देशन शुक्रबार नै दिएको थियो । निर्देशन बमोजिम आइतबारदेखि नै बैंक तथा वित्त कम्पनीले उपत्यकाका ३ जिल्लामा केन्द्रिय कार्यालय बाहेक ६ वटा शाखामात्रै सञ्चालन गरिरहेको बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार तोकिएको शाखा कार्यालयबाट सेवा ग्राहीले निक्षेप झिक्न र राख्न, एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न, रेमिट्यान्स सम्बन्धी कारोबार गर्न, एलसी खोल्न पाउने छन् । हाललाई बैंक तथा वित्त कम्पनीहरुले ५० हजार रुपैयाँभन्दा धेरैमात्र निक्षेप राख्ने भएपनि ग्राहकलाई आवश्यकता अनुसार सोभन्दा थोरै पनि रकम तथा चेक डिपोजिट गरिरेहको उनले जानकारी दिए ।


क्लिकमान्डु