निषेधाज्ञाले पनि असर परेन आयात निर्यातमा



काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारी फैलिएसँगै सरकारले रोकथाम तथा नियान्त्रणको लागि गत वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाले आयात निर्यातमा खासै असर परेको छैन ।

भन्सार विभागले सार्वजनिक गरेको १० महिना अवधिको तथ्याङ्क अनुसार निषेधाज्ञाले पनि आयात निर्यातमा असर नपरेको देखिएको हो ।

सरकारले लागू गरेको निषेधाज्ञाले अत्यावश्यक व्यवसायबाहेक सम्पूर्ण व्यवसाय बन्द अवस्थामा रहेको छ । तर, अधिकांश व्यापार व्यवसाय बन्द भएपनि आयात निर्यातमा भने सहज भएको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको वैशाख मसान्तसम्ममा साढे १२ खर्ब बढीको आयात गर्दा नेपालबाट १ खर्बको वस्तु तथा सेवा निर्यात गरेको छ ।

गत वर्ष कोरोना भाइरस महामारीले गर्दा लकडाउन तथा निषेधाज्ञाले गर्दा आयात निर्यातमा धेरै असर परेको थियो । उक्त बेला आयातसँगै निर्यातमा गिरावट आएको थियो । तर, यो वर्षको निषेधाज्ञाले भने असर परेको देखिँदैन । गत वर्षको चैतमा लकडाउनका कारण ७.४५ प्रतिशतले आयात घटेको थियो भने निर्यात सामान्य अवस्थाको तुलनामा १२.८८ प्रतिशतले बढेको देखिन्छ । तर, वैशाखमा आइपुग्दा निर्यात पनि ४.५० प्रतिशतमा सिमित भएको थियो ।

यस्तै यो वर्ष भने निषेधाज्ञामा पनि आयात निर्यात बढेको छ । सरकारले लागू गरेको निषेधाज्ञामा चैत महिनामा केही मात्राले घटेको छ । तर, करिब १५ दिनसम्म निषेधाज्ञा लागू हुँदा उक्त रकम बराबरको रकमको आयात निर्यात हुनु भनेको कुनै असर नरहेको सरोकारवालाहरू बताउँछन् ।

नेपालले चैत महिनामा मात्रै १ खर्ब ६७ अर्ब ४० करोड ७२ लाख रकम बराबरको वस्तु तथा सेवा आयात गरेको थियो भने नेपालबाट १३ अर्ब ९८ करोड ८२ लाख रकम बराबरको वस्तु तथा सेवा निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । त्यस्तै, वैशाख महिनामा १ खर्ब ४२ अर्ब ७१ करोड ४७ रकम बराबरको वस्तु तथा सेवा आयात गर्दा १३ अर्ब ७१ करोड २६ लाख रुपैयाँको निर्यात भएको छ ।

जसमा चैत महिनाको तुलनामा वैशाख महिनामा निषेधाज्ञा लागू हुँदा आयातमा २४ अर्ब ६९ करोड २४ लाख रुपैयाँले कमी आएको छ भने निर्यातमा २७ करोड ५६ लाख रुपैयाँले मात्रै कमी आएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

यस्तो छ चालु आवको वैशाखसम्मकोे आयात निर्यात तथ्याङ्कः 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको वैशाखमा चैतको तुलनामा १४.७४ प्रतिशतले आयात घटेको देखिन्छ । जसमा चैतमा १ खर्ब ६७ अर्ब ४० करोड रकम बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । तर, वैशाखमा सो रकम घटेर १ खर्ब ४२ अर्ब ७१ करोड रकमको आयात गरेको छ ।

त्यस्तै निर्यात भने १.९ प्रतिशतले मात्रै घटेको छ । जसमा चालु आवको चैतमा १३ अर्ब ९८ करोडको निर्यात गर्दा वैशाखमा १३ अर्ब ७१ करोडको निर्यात गरेको छ ।


क्लिकमान्डु