करिब डेढ दशकअघिको १ खर्बको निर्यात लक्ष्य यो वर्ष पूरा



काठमाडौं । करिब डेढ दशकअघिको निर्यात मूल्यलाई १ खर्ब पुर्याउने नेपालको लक्ष्य यो वर्ष पूरा भएको छ । सरकारले २०६४ सालमा पहिलो पटक तीन वर्षीय अन्तरिम योजना अनुसार १ खर्ब पुर्याउने लक्ष्य लिएको थियो । तर, अन्तरिम योजना सकिएको करिब डेढ दशक अघिको लक्ष्य यो वर्ष पूरा भएको हो ।

आर्थिक वर्ष २०७६/७७ शुरुदेखिनै निर्यातले दोहोरो अंकको वृद्धिदर हासिल गर्दै आएकाले उक्त वर्षमा निर्यात मूल्यले १ खर्ब नाघ्ने अनुमान गरिएको थियो ।

तर, गत वर्ष देशव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण चैतबाट निर्यात सुस्तायो । चैतबाट निर्यात वृद्धिमा सुस्तएसँगै आर्थिक वर्षको अन्तमा आइपुग्दा निर्यात वृद्धि निकै कम भएको थियो । यसले गर्दा गत वर्ष दशकअघिको लक्ष्य पूरा हुन सकेन ।

तर, गत वर्ष शुरुदेखि नै दोहोरो अंकले वृद्धिदर हासिल गरेको नेपालले चालु आव २०७७/७८ मा निर्यात वृद्धिदर बढेर १० महिनाको अवधिमा डेढ दशक अघिको लक्ष्य पुरा गरेको छ । चालु आवको १० महिनाको अवधिमा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ मूल्य बराबरको वस्तु तथा सेवा निर्यात गरेर डेढ दशकअघिको लक्ष्य पूरा गरेको हो ।

चालु आवमा कोरोना भाइरस महामारीका कारण विभिन्न क्षेत्रमा असर पारेको अवस्थामा पनि निर्यात बढ्नु सकारात्मक पक्ष रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको १० महिनाको अवधिसम्ममा गत वर्षको तुलनामा ३२.१९ प्रतिशतले निर्यातमा वृद्धि भई नयाँ इतिहास कायम गरेको छ ।

नेपालले करिब डेढ दशक अघिदेखि नै निर्यात मूल्य १ खर्ब पुर्याउने लक्ष्य राखे पनि पूरा हुन सकेको थिएन । गत वर्ष मासिक रुपमा भएको वृद्धिदरले १ खर्ब नाघ्ने सबैको अनुमान थियो ।

तर, कोरोनाले गदौ पूरा भएन । चालु आवमा भने कोरोनाको असर देखिएपनि निर्यात भने सकारात्मक भएकाले १ खर्ब पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले जानकारी दिए ।

उनका अनुसार निर्यात मासिक सरदर साढे १० अर्बको दरले बढ्दै गएकाले लक्ष्य हासिल गर्न सम्भव भएको बताए ।

‘यो वर्ष नेपालले निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य पूरा भएको छ । यसले गर्दा निर्यात व्यवसायीहरूलाई थप उर्जा र प्रोत्साहन मिल्नेछ,’ उनले भने ।

यस्तै, करिब डेढ वर्ष अघिको १ खर्ब मूल्य पुगेकोेमा व्यवसायीहरू उत्साहित भएका छन् । तर, पछिल्लो समय कोरोनाले गर्दा अधिकांश व्यापार व्यवसाय बन्द हुँदा आगामी दिनमा असर पर्ने उनीहरूको भनाइ छ ।

नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीका अनुसार करिब डेढ दशक अघिको लक्ष्य यो वर्ष पूरा भएकाले व्यवसायीलाई थप उत्साहित बनाएको बताए ।

उनका अनुसार पछिल्लो समय अधिकांश वस्तु तथा सेवाको मूल्य निकै बढेकाले निर्यातित वस्तु तथा सेवाको मूल्य पनि बढेकाले १ खर्ब निर्यात मूल्य पुगेको बताए ।

‘अहिले सबै ढुवानीदेखि कामदारको ज्याला महंगो रहेको छ । साथै, कोरोनाले गर्दा चार्टर्ड फ्लाइटले गर्दा पनि ढुवानीको मूल्य त्यति नै महंगो भएको हुँदा वस्तु तथा सेवाको मूल्य पनि सोही अनुसार बढ्दै गएको छ । यसले गर्दा निर्यात मूल्य बढेको हो,’ उनले भने ।

त्यस्तै, नेपालका व्यवसायीले निर्यातित वस्तु तथा सेवा उत्पादनको लागि विभिन्न देशबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । यसले गर्दा पछिल्लो समय ढुवानीलगायत कच्चा पदार्थको मूल्य बढ्दा उत्पादित सामग्रीको पनि मूल्य बढेको उनको भनाइ छ ।

तर, पछिल्लो समय कोरोनाले गर्दा निर्यात क्षेत्रमा निकै प्रभाव परेको बताए । उनका अनुसार अहिले अधिकांश उद्योग बन्द भई उत्पादन गर्न नसकेको अवस्थामा व्यवसायीहरूले उल्लेख्य रुपमा निर्यात गर्न नसक्ने उनको अनुमान छ ।

डेढ दशकअघिको निर्यात तथ्याङ्क
सरकारले २०६४ सालदेखि १ अर्ब लक्ष्य पुर्याउने भएपनि उक्त लक्ष्य अनुसार निर्यात गर्न सकेको थियो । २०६४/६५ मा पहिलो त्रिवर्षीय योजनाको आधारमा १ खर्ब लक्ष्य लिएपनि सो वर्षमा ५८ अर्बमा सिमित भई २०६६/६७ मा पनि ६१ अर्बमा सीमित रह्यो ।

त्यसपछि सरकारले २०६७/६८ मा आएको त्रिवर्षीय योजनाले पनि सोही लक्ष्यलाई निरन्तरता दिँदै अन्तिम वर्ष २०६९/७० को वार्षिक निर्यात ७७ अर्बमा सीमित भई लक्ष्य हासिल गर्न सकेको थिएन । तर, यो वर्ष भने चालु आवको बैशाख मसान्तसम्ममा निर्यात मूल्य १ खर्ब बढी भएको छ ।


क्लिकमान्डु