१० महिनामा २२ प्रतिशतले आयात र ३२ प्रतिशतले निर्यात बढ्यो



काठमाडौं । चालु आर्थिक २०७७/७८ को १० महिनाको अवधिमा २२.३४ प्रतिशतले आयात बढेको छ ।

चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख वस्तु तथा सेवा आयात भएको थियो । जुन यो वर्षको तुलनामा २२.३४ प्रतिशतले बढी हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा ३२.१९ प्रतिशतले निर्यात बढेको छ । उक्त तथ्याङ्क अनुसार १० महिनाको अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । साथै, गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४७ लाख वस्तु निर्यात भएको थियो ।

त्यस्तै, १० महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

विभागको तथ्याङ्क अनुसार कुल वैदेशिक व्यापारमा पनि बढेको आएको छ । गत आवको बैशाख मसान्तसम्ममा ११ खर्ब ७ अर्ब २० करोड २५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । साथै, चालु आवको सोही अवधिमा १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।

चालु आवमा गत वर्षको तुलनामा आयात निर्यातमा ७.४५ प्रतिशतको अनुपातमा कम रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु