संसारभर १ अर्ब ६० करोडले खोप लगाउँदा चीनमा मात्रै ५० करोड डोज डोज लगाइयो



एजेन्सी । खोप निर्माता देशको रुपमा परिचित चीनमा शनिबारसम्म ५० करोड डोज खोप लगाइसकेको विवरण प्राप्त भएको छ ।

कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध उक्त परिमाणमा खोप लगाइएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ ।

कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै १ करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ । बिबिसीका अनुसार विश्वभर करिब १ अर्ब ६० करोड डोज खोप लगाइएको छ ।

यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् । त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन् ।

त्यस्तै, भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ४० हजार ८४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी सोही अवधिमा अरु ३ हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयको विवरण अनुसार नयाँ सक्रमितको संख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको संख्या १ लाखभन्दा बढी रहेको छ ।

भारतमा अहिलेसम्म कुल सक्रमितको संख्या २ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख ५ हजार ३९९ जना अहिले पनि सक्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको संख्या २ लाख ९९ हजार २६ पुगेको छ ।

कोरोनाभाइरसबाट सक्रमणमुक्त भइसकेकाहरुको संख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ । कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । यसअघि लामो समयसम्म सबैभन्दा धेरै सक्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहँदै आएको थियो ।

अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सक्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सक्रमित रहेका छन् ।

भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।

कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ ।

भारतमा एकातिर खोप अभियान चलिरहेको छ भने अर्को तर्फ दैनिक हजारौको मृत्यु र लाखौँ सक्रमित हुने क्रम पनि चलिरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ३४ लाख ६८ हजार पुगेको छ ।

कोभिड–१९ बाट सर्वाधिक असर परेका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल र भारत रहेका छन् । प्राप्त विवरण अनुसार संयुक्तराज्य अमेरिकामा हालसम्म ६ लाख ३ हजार, ब्राजिलमा ४ लाख ४८ र भारतमा २ लाख ९९ हजारको ज्यान गएको छ ।


क्लिकमान्डु