हल्ला नगरी कनै क्युबाले बनायो आफ्नै खोप, ११ लाखले लगाइसके
एजेन्सी । क्यारेबियन राष्ट्र क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ । कुनै पनि हल्ला नगरीकन क्युबाले खोप निर्माण गरेको हो ।
संसारकै सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली भएको सो देशले कोरोना नियन्त्रणलाई समेत एउटा सीमामा राखेका छन् ।
क्युबाका एक जना बरिष्ठ अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको बिहीबार जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधि सम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरु धेरै काम गर्न बाँकी रहेको बताए ।
क्युबामा बिहीबार एकै दिन १ हजार २५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी हुनुका साथै ६ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ ।
क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरु – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ । यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौं व्यक्तिले खोप बारेमा आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् ।
राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक संक्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गरे । क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सम्पूर्ण क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ । क्युबामा करिब १ करोड १० लाख जनसंख्या छ । क्युबाले बनाएको खोप छिमेकी अन्य देशलाई समेत उपलब्ध गराउने विषयमा समेत छलफल भइरहेको समेत बताइएको छ ।