किसानमैत्री बजेटको तयारी भइरहेको छः प्रदेश १ का कृषिमन्त्री राणा



काठमाडौं । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर (राणा) ले साना किसान मैत्री बजेटको तयारी भइरहेको बताए । प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी रहेका उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्थामा रहेको बताएका हुन् ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चलर जर्नलिस्ट (अनाज) ले विहिवार आयोजना गरेको ‘कोरोना महामारी र प्रदेश १ कृषि वजेटका सवालहरु’ विषयक भर्चुअल बहस कार्यक्रम उनले कृषिलाई व्यवसायीकरण र मर्यादाको क्षेत्र बनाउने काम पनि भइरहेको बताए ।

उनले कृषिमा ठूला घाराना उद्योगीहरु पनि हात हालेको कारण साना किसानहरुलाई पनि हौसला प्रदान गरेको उल्लेख गरे ।

उनले संघ, प्रदेश र स्थानीय तहको बीचमा केही कामका लागि क्षेत्र विभाजन गरिएको जानकारी गराउँदै पकेट स्थानीय, ब्लक समूहलाई प्रदेश र जोन सुपर जोनलाई केन्द्रीय सरकारलाई हेर्ने स्तर निधारण भएको छ तर त्यो अनुसार काम नभएको जिकिर गरे ।

स्थानीय तथा केन्द्रीय सरकारसँग छलफल गरेर काम गरेपनि सोचे जस्तो समन्वय नभएको कुरा सही रहेको बताउँदै उनले त्यसलाई सुधार गर्ने प्रयास हुने बताएका छन् ।

प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको छ तर व्यक्ति व्यक्तिको घरमा नपुगेपनि सहकारीस्तरमा पुगेको उनको भनाइ छ ।

‘भूमि बैंकलाई व्यवहारिक रुपमा अगाडि बढाउने कार्यलाई अगाडि बढाएको र त्यसका
लागि भूमि आयोगले काम गरिरहेको छ,’ उनले भने, ‘भूमी बैंकको स्थापना भयो भने कृषिमा केही गर्न चाहनेलाई सहयोग पुग्नेछ । साथै यस्तो बेलामा सहकारीमार्फत जमिनहरु भेला गरेर चकलाबन्दी प्रणालीमा खेती गर्ने सोच बनि रहेको हुनाले सहज हुनेछ ।’

प्रदेश १ कतिपय उत्पादनमा आत्मनिर्भर रहेको बताउँदै उनले चिया, अदुवा, छुर्पीलगायतमा आत्मनिर्भर रहेको कतिपय क्षेत्रमा आत्मनिर्भरको नजिक पुगेको बताए । धान तथा तरकारी उत्पादनले पनि पुगिरहेको छ तर अयातमा कमी आएको छैन, यसमा के गर्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाएको उनको धारणा छ ।

दुध उत्पादन वृद्धि भएर त्यो बिक्री नहुँदा त्यसलाई धुलो बनाइरहेको हुनाले अब दुधमा पनि विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको उनको बmुझाइ छ । बीउ व्यवस्थापनमा महत्वपूर्ण काम रहेको र त्यसका लागि सरकारले वजेटको व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए ।

‘माछा, दुध, मासु उत्पादनदेखि लिएर विदेशबाट फर्केका युवालाई कृषिमा कसरी लगाउने कार्यक्रम पनि वजेटमा राखेको छ । कोरोनाको कारण भएको क्षतिलाई कसरी अगाडि बढाउन सकिन्छ, उत्पादनमा कसरी जोड दिन सकिन्छ त्यसलाई केन्द्रमा राखेर वजेटको तयारी भइरहेको छ,’ उनले भने ।

प्रदेश १ का नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले कोरोनाका कारण हरेक कामलाई महाव्याधी, महाविपत्तिको रुपमा बुझेर कामलाई अगाडि बढाउनुपर्ने बताए । कोरोनालाई विपत्तिको रुपमा नलिएर एउटा अवसरको रुपमा लिएर उत्पादनमा जोड दिनुपर्ने बताउँदै उनले कोरोनालाई केन्द्रविन्दुमा राखेर वजेटलाई अगाडि बढाउनुपर्ने बताए ।

‘प्रदेशमा जनशक्तिको अभाव छ, त्यो अभावलाई पूरा गर्नका लागि करारमा लिएर भएपनि काम अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘कृषिका थुप्रै जनशक्तिहरु अवकाश प्राप्त गरी त्यतिकै बरिरहेका छन्, सरकारले उनीहरुलाई पनि प्रयोग गर्नुपर्ने र कोभिडका कारण विदेशबाट फर्केकाका जनशक्तिलाई पनि प्रयोगमा ल्याउनुपर्नेछ ।’

नेपालमा उत्पादनको कमी छैन तर त्यसको भण्डारण गर्ने अवस्था राम्रो नरहेको कारण खाद्यान्नमा अरु देशको भर पर्नुपरेको बताउँदै उनले उत्पादीत वस्तुलाई व्यवस्थित तरिकाले राख्ने भण्डारण राम्रो भयो भने आयात आफै कम हुँदै जाने उनको भनाइ छ ।

कृषि उद्यमी पवन गोल्यानले १ नम्बर प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुन्छ तर त्यहाँ बीउको समस्या रहेको बताए । उनले भने, ‘त्यहाँका किसानले मोटो धान उत्पादन गर्छन् तर मसिना धानको चामल खान्छन्, नार्कमा पनि विभिन्न जातका बीउहरु छन् तर किसानसम्म पुगेको छैन ।’

‘मजस्ता ठूला किसानलाई अनुदान नदिएर साना किसानलाई अनुदान दिएर कृषिमा लगाउनुपर्छ र उत्पादनमा वृद्धि गर्नुपर्छ,’ उनले भने । प्रदेशमा कृषि खेती गर्नका लागि जमिनको निकै अभाव रहेको बताउँदै उनले त्यहाँ ठूलो मात्रामा कृषिको फर्म सञ्चालन
गरेपनि समस्याहरु पनि ठूलै रहेको उल्लेख गरे ।

कृषिको समग्र विकासका लागि तथ्यांक हुनु आवश्यक छ, तर कृषिको विषयमा सरकारसँग कुनै तथ्यांक नरहेको बताउँदै उन्ले तथ्यांक नहुँदा ठीक ढंगले काम अगाडि नबढेको उनको भनाइ छ ।


क्लिकमान्डु