चीनमा ४३ करोड ५० लाखलाई कोरोनाको खोप



एजेन्सी । खोप निर्माता देशको रुपमा परिचित चीनमा हालसम्म कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तीव्र बनाइएको छ ।

दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनहरुमा दैनिक १ करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ । संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विश्वभर हाल कोभिड–१९ विरुद्धको १ अर्ब ५३ करोड डोज खोप लगाइएको छ । कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

उता कोरोना भाइरस संक्रमित बिरामीले संक्रमणमुक्त भएको ३ महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले सिफारिस गरेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो ।

‘एन्टि सार्स–२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा’ दिई उपचार गरिएका कोभिड–१९ संक्रमित बिरामीहरूलाई दिने खोप पनि अस्पतालबाट डिस्चार्ज हुने मितिदेखि ३ महिनासम्म स्थगित गरिनुपर्ने विज्ञहरूको समितिले बताएको छ ।

एनईजीभीएसीका नयाँ सिफारिसहरुमा भनिएको छ –कुनै व्यक्ति खोपको पहिलो डोज लिएपछि सङ्क्रमित भएमा पनि दोस्रो मात्रा सङ्क्रमणमुक्त भएको तीन महिनासम्मका लागि स्थगित गर्नुपर्नेछ ।

कोभिड–१९ संक्रमणमुक्त भएको परीक्षण रिपोर्ट आएको १४ दिने वा खोप लगाएको १४ दिनपछि कुनै पनि व्यक्तिले रगतदान गर्न सक्ने विज्ञ समूहले सिफारिस गरेको छ ।

समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोभिड–१९ को खोप लिनुभन्दा पहिले ४–८ हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाब दिएको छ ।

स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने तर गर्भवतीहरुका लागि के गर्ने भन्ने बिषयमा अझै खाृपका लागि राष्ट्रिय प्राबिधिक सल्लाहकार समूहले छलफल तथा अध्ययनहरू गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।


क्लिकमान्डु