निषेधाज्ञा अवधिमा बिजुलीको बिल नतिरे के हुन्छ ? प्राधिकरण भन्छ- जरिवाना लाग्दैन



काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिमा बिजुलीको बिल नतिरे जरिवाना नलाग्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार निषेधाज्ञा जारी भएपछिको अवधिको महशुल संकलनलाई ‘होलिडे सेटअप’ अर्थात् निषेधाज्ञा अवधिलाई शून्य अवधि माग्ने निर्णय प्राधिकरणले गरेको हो ।

‘अहिले मिटर रिडर घर-घरमा जान सकेका छैनन् । यसकारण निषेधाज्ञा अवधिको समयलाई शून्य गणना गर्ने भनेका छौं,’ उनले भने, निषेधाज्ञा सकिएर महशुल संकलन काउन्टरहरु जहिले खुल्छन्, त्यसपछि नियमअनुसार गणना गरेर महशुल असुल गरिन्छ ।’

मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महशुल नतिरेकोलाई प्राधिकरणले जरिवाना लिन्छ । तर जरिवाना तिराउने समयलाई पनि निषेधाज्ञा अवधिभर शून्य गणना गरिनेछ ।

उदाहरणका लागि कुनै उपभोक्ताले चैत महिनाको महशुल बुझाउन बाँकी भएमा त्यस्ता ग्राहकले जेठसम्ममा महशुल नबुझाए जरिवाना लाग्छ । तर निषेधाज्ञाका कारण वैशाख १६ पछिको समय भने गणना नहुने प्राधिकरणले जनाएको छ ।

यद्यपि, यो अवधिमा उपभोक्ताले आफै मिटर रिडिङ गरेर अनलाइनमार्फत् बिल भुक्तानी गर्न भने सक्नेछन् । गतवर्ष सोही महिनामा जति विद्युत् महशुल उठेको थियो त्यसैलाई आधार मानेर बिलिङ सकिने व्यवस्था गरिएको तिम्सिनाले बताए । प्राधिकरणले अनलाइन प्रणालीमार्फत् बिल भुक्तानी गर्नका लागि ‘कन्जुमर सेल्फ रिडिङ सिस्टम’ बनाएको छ ।

गतवर्ष पनि लकडाउन अवधिमा विद्युत महशुल नतिरे जरिवाना र हर्जाना नलिन सरकारले प्राधिकरणलाई निर्देशन दिएको थियो ।


क्लिकमान्डु