स्वास्थ्य सामग्रीमा अन्तर्राष्ट्रिय सहयोग जुट्दै, ईयु, स्पेन र अमेरिकाले सहयोग गर्दै



फाइल तस्बिर

काठमाडौं । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय निकायहरुबाट सहयोग जुट्न थालेको छ ।

दातृ देश तथा निकायहरुले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, मास्क,ग्लोभलगायत सामग्रीहरु सहयोगका रुपमा उपलब्ध गराउन थालेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार स्पेनले सहयोगका रुपमा १५ वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सनट्रेटर, १ लाख ४४ हजार एन्टिजेन टेस्टकिट र सोही परिमाणमा एफएफपिटु माक्स र सिलिन्डर नेपाललाई उपलब्ध गराउने छ । उक्त स्वास्थ्य सामग्री बिहीबार अरेबियन एयरलाइन्समार्फत् नेपाल आइपुग्नेछ ।

अजरबैजान, फ्रान्स, फिनल्याण्ड र जर्मनीले युरोपियन युनियनको सिभिल प्रोटेक्सन मेकानिजमअन्तर्गत प्रदान गर्ने सहयोगबाट हालसम्ममा १४ वटा भेन्टिलेटर, ३० लाख फेसमास्क, ३ लाख ५० हजार एफ, एफ पी टु माक्स, ५२ हजार ५ सय जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफमार्फत ८४० थान अक्सिजन कन्सन्ट्रेटरसमेत १५ लाख डलर बराबरको स्वास्थ्य सामग्री मे २७ मा नेपाल आइपुग्नेछ ।

मन्त्रालयकाअनुसार चीनको सिचुवान प्रान्तले नेपाल सरकारलाई सहायताका रुपमा दिएको ३.६ मिलियन चिनीयाँ युआन (६ करोड ५५ लाख नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री पनि आज नेपाल आइपुग्दैछ । उक्त सामग्री सिचुवान एयरलाइन्सको चार्टर कार्गो विमानमार्फत काठमाडौं आउन लागेको हो ।


क्लिकमान्डु