फाइजरको खोप अब कम उमेरकालाई समेत प्रयोग गर्न सकिने
एजेन्सी । युरोपेली संघ (इयू)को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।
युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।
यसअघि त्यसरी भण्डारण गर्नका लागि ५ दिनको समय निर्धारण गरिएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।
फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो ।
शुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो ।
यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ । बालबालिका तथा कम उमेरका मानिसलाई समेत प्रयोग गर्न मिल्ने भएपछि कोरोनाको दोस्रो लहरबाट पीडितलाई समेत राहत पुग्नेछ ।
कोरोनाको दोस्रो लहरका कारण कम उमेरका मानिस बढी प्रभावित भएका छन् । भारत, नेपाल जस्ता देशमा समेत कम उमेरका मानिसको मृत्युदर बढी रहेको छ ।