एक दर्जन अस्पतालमा अक्सिजन प्लान्ट बनाउन १६ करोड ८० लाख निकासा
काठमाडौं । देशभरका विभिन्न १२ वटा अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना गर्न र पाइपलाइन जोड्नका लागि अर्थमन्त्रालयले १६ करोड ८० लाख रुपैयाँ बराबर निकासा गर्नेगरी स्रोतको सहमति दिएको छ ।
मन्त्रालयको मंगलबारको निर्णयअनुसार ती अस्पतालहरुमा अक्सिजन पाइपलाइन र प्लान्ट स्थापना गर्न खरिद प्रक्रिया अगाडि बढाउनसमेत सहमति दिइएको छ ।
मन्त्रालयले तनहुँको दमौली अस्पताललाई अक्सिजन पाइपलाइन बनाउनका लागि ३० लाख रुपैयाँ निकासा दिएको छ ।
बाँकी ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि समान १ करोड ५० लाख रुपैयाँका दरले बजेट निकासा गरिएको छ ।
प्लान्ट स्थापनाका लागि रकम पाउनेमा स्याङ्जा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, नवलपरासीको पी चन्द अस्पताल, कपिलवस्तुको तौलिहवा अस्पताल, पाल्पा अस्पताल, बर्दिया अस्पताल, प्रादेशिक अस्पताल दाङ, प्युठान अस्पताल, तर तेह्रथुम अस्पताल रहेका छन् ।