एमसीसी परियोजनाअन्तर्गत कार्यान्यवयन हुने विद्युत प्रशारणलाइनको इआईए स्वीकृत



काठमाडौं । वन तथा वातावरण मन्त्रालयले लप्सीफेदी–रातामाटे–दमौली–बुटवल विद्युत प्रशारणलाईनको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । गत वैशाख १६ गतेको मन्त्रिपरिषद निर्णय बाट इआईए प्रतिवेदन स्वीकृत भएको हो ।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन हुने यो परियोजनाको इआईए स्वीकृत भएको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले जनाएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सब–स्टेशनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी मध्येको एउटा महत्वपूर्ण काम रहेको एमसिए नेपालले जनाएको छ ।

‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व पूरा गर्नुपर्ने कार्यस्थलमा पहुँचसम्बन्धी पूर्वशर्त हासिल गर्नेसन्दर्भमा यो उपलब्धि एउटा महत्वपूर्ण कोशेढुङ्गा हो,’ एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने । ‘‘अर्काे महत्वपूर्ण कोशेढुङ्गा यस सम्झौताको संसदीय अनुमोदन हुनेछ ।’

इआईए प्रतिवेदनले आयोजना कार्यान्वयन गरिने स्थानका भौतिक, जैविक, सामाजिक–आर्थिक तथा सांस्कृतिक वातावरणको वर्तमान अवस्था पहिचान गरेको छ र सम्भावित प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूबारे सुझावहरू पनि दिएको विष्टले बताए ।

वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि सघन कार्यविधि अपनाइनुका साथै आयोजना कार्यान्वयन गरिने १० वटा जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सञ्चालन गरिएको पनि एमसीए नेपालले जनाएको छ ।

नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबीच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।

एमसीए नेपालअन्तर्गत कार्यान्वयन हुने यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजनाले करिब ३१४ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्नेछ । उक्त प्रसारण लाइन १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका भएर जानेछ ।


क्लिकमान्डु