होटल निरन्तर घाटामा, सेयर मूल्य भने बढेको बढ्यै
काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक हो पर्यटन क्षेत्र । त्यसमध्ये पनि होटल क्षेत्र कोरोनाका कारण सबैभन्दा प्रभावितमध्येका एक हुन् ।
गत वर्ष चैत ११ गतेदेखि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएसँगै बन्द भएका कतिपय होटलहरु अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।
सरकारले लकडाउन सकिएसँगै सरकारले होटल सञ्चालन गर्न पाउने भने पनि केही होटलहरु विदेशी पर्यटक नआउँदासम्म घाटा हुने भन्दै सञ्चालन बन्द गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हालसम्म ४ वटा होटल छन् । जसमा ओरियन्टल प्रालि अन्तर्गतको र्याडिसन होटल, दि सोल्टी होटल, तारागाउँ रिजेन्सी अन्तर्गतको हायात होटल र याक एण्ड यति होटल छन् । जसमध्ये अहिले याक एण्ड यति होटलको कारोबार रोक्का छ भने बाँकी तीन वटा होटलको सेयर कारोबार भइरहेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण ओरियन्टल र दि सोल्टी होटलले प्रकाशित गरिसकेका छन् । तर तारागाउँ रिजेन्सीले सार्वजनिक गरिसकेको छैन । जस अनुसार होटल ओरियन्ट अर्थात् र्याडिसन होटलको घाटा २१ करोड रुपैयाँ नाघेको छ । साथै दि सोल्टी होटलको घाटा १३ करोड ६६ लाखभन्दा बढी छ ।
कोरोना महामारीका कारण बन्द भएका यी होटल वित्तीय विवरण नकारात्मक हुँदा पनि यी होटलहरुको सेयर मूल्य भने सकारात्मक सर्किटका साथ उकालो लागेको छ ।
होटल तथा पर्यटन उपसमूहमा मंगलबार दिउँसोसम्म ६ प्रतिशतले वृद्धि भएको छ । जसमा तीन वटा होटलमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ भने चन्द्रागिरि हिल्सको सेयरमा ३ प्रतिशतको वृद्धि देखिएको छ ।
ओरियन्टल होटल प्रालिको सेयर मूल्य मंगलबार १० प्रतिशतले वृद्धि भएको छ । सोमबार प्रतिकित्ता ४२० रुपैयाँमा बन्द भएको होटलको सेयर मूल्य मंगलबार ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ पुगेको छ । होटलको नेप्सेमा १ करोड १२ लाख ८० हजार ९०५ कित्ता सेयर सूचिकृत छ ।
त्यसैगरी सोमबार प्रतिकित्ता १९० रुपैयाँमा बन्द भएको दि सोल्टी होटलको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेर २०९ रुपैयाँ पुगेको छ । होटलको नेप्सेमा ८ करोड ४२ लाख ५७ हजार ९७३ कित्ता सेयर सूचिकृत छ ।
यता तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित नगरिसकेको तारागाउँ रिजेन्सीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । सोमबार प्रतिकित्ता २९१ रुपैयाँमा बन्द भएको होटलको सेयर मूल्य मंगलबार ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२० रुपैयाँ पुगेको छ । होटलको सेयर बजारमा ७४ लाख ४९ हजार ८७५ कित्ता सेयर सूचिकृत छ ।
यता होटल तथा पर्यटन उपसमूह अन्तर्गतको चन्द्रागिरि हिल्सको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ । लकडाउन तथा निषेधाज्ञाका कारण पछिल्लो एक वर्षमा अधिकांश समय बन्द भएको र वित्तीय विवरण पनि नकारात्मक देखिएको चन्द्रागिरि हिल्सको सेयर मूल्यमा मंगलबार ३ प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर प्रतिकित्ता १८८० रुपैयाँ पुगेको छ ।
कोरोना महामारीका कारण होटलको घाटा चुलिँदा पनि सेयर मूल्यमा बढ्नु चलखेलका रुपमा बुझिएको छ ।