के माथिल्लो तामाकोशीको विद्युत् उत्पादन मिति अझै सर्दैछ ? सुरुङ परीक्षणमा भेटियो समस्या



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणमा केही कमजोरी देखिएको छ । सुरुङमा पानी चुहिने समस्या देखा परेको आयोजनाका एक प्राविधिकले जानकारी दिए ।

तर, आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले भने परीक्षणको क्रममा प्रेसर परीक्षण गर्दा सामान्यरुपमा पानी रसाएको बताए । उनले भने, ‘यो सामान्य हो । परीक्षणको क्रममा देखिएको हो ।’

जानकारहरुका अनुसार काम सकिन समय लाग्छ भन्दै प्रोटोकल अनुसार सुरुङमा पानी हाल्ने भन्दै आयोजनालाई तत्काल सुरुङमा पानी हाल्न सरकारको तर्फबाट दबाव दिइएको थियो ।

सोही दबावका आधारमा आयोजनाले सुरुङमा पानी हालेको थियो । हेलिकोप्टर लिएर सञ्चारमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ सुरुङमा पानी हाल्न पुगेका थिए ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको पहिलो यूनिट वैशाख मसान्तभित्रै सञ्चालनमा ल्याउने भनिएको थियो । परीक्षणको काम नसकिएका कारण अझै केही दिन लाग्ने बताइएको छ ।

प्रवक्ता न्यौपानेले ढिलोमा यही जेठ १३ गतेसम्म विद्युत् उत्पादन हुन सक्ने जानकारी दिए । शुरुवाती लागत ३५ अर्बमा शुरु भएको आयोजना भूकम्प, भारतको नाकाबन्दी, डिजाइनमा गरिएको परिवर्तन, प्राकृतिक विपत्ती तथा अमेरिकी डलरको मूल्यमा आएको उतारचढावका कारण लागत बढेर झण्डै ८० अर्बको हाराहारीमा पुगेको छ ।

आयोजनाको पहिलो यूनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गरेर क्रमशः अन्य युनिट सञ्चालन गर्दै जाने आयोजनाको तयारी छ । तर, सुरुङमा पानी हाल्दा पाइफ बोल्ट भल्वहरुमा पानी चुहावट भए नभएको बारेमा परीक्षण भइरहेको छ । परीक्षणमा केही समस्या देखिएकाले त्यसको निरुपण गरेर मात्रै पहिलो यूनिटबाट बिजुली उत्पादन शुरु गर्ने तयारीमा आयोजना रहेको छ ।


क्लिकमान्डु