भारतमा रसियाली खोप स्पुतनिक भीको बिक्री शुरु, कति पर्ला एक डोजको ?



काठमाडौं । भारतमा रसियाले उत्पादन गरेको स्पुतनिक भी खोपको प्रतिडोज ९४८ मा बिक्री शुुरु गरेको छ ।

नेपाली मुद्रामा यो खोपको मूल्य प्रतिडोज १ हजार ५१६.८० पैसा पर्ने भएको छ । त्यस आधारमा दुई डोज खोपको मूल्य ३ हजार ३३ पर्ने भएको छ ।

नेपालमा पनि सरकारले रसियाली खोपलाई प्रयोग गर्ने स्वीकृति दिएको भएपनि हालसम्म आयात हुन सकेको छैन । औषधी व्यवस्था विभागले केही दिन पहिले सो खोप प्रयोगको स्वीकृति दिएको थियो ।

भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ ।

स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ ।

कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक भी खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

डा रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए ।


क्लिकमान्डु