मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित् विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत् केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको जानकारी दिए ।
‘मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो’, उनले भने ‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौं ।’
परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली नारच्याङ आएको छ ।
नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षणसफल भएको थियो ।
परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दीपककुमार शाहले बताए ।
यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो ।
विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरी र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।
बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।
५ अरब ६४ करोडलागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो ।
प्रर्बद्धक बाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत् विकास कम्पनीले १ अर्व नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड ऋण लगानी रहेको छ ।
आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरूलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ । साधारण सेयर पनि बाडफाँट भइसकेको छ ।
विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु भएको थियो ।
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा–२ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ ।
अन्नपूर्ण-३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको विद्युत् प्रशारण लाइन गत माघमा निर्माण सकिएको थियो । माउन्टेन इनर्जीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत् उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।