ओमनबाट ५५० सिलिन्डर १५ गते पठाउँदै, एनआरएनले थप १७० कन्सनट्रेटर नेपाल ल्याउँदै



काठमाडौं । ओमनस्थित नेपाली राजदूतावास र एनआरएनको सहकार्यमा ओमनबाट ५ सय ५० सिलिन्डर नेपाल ल्याउने भएको छ ।

वैदेशिक रोजगार पत्रकार समाजले कोभिडको दोस्रो लहरको महामारीमा एनआरएनको सहयोग÷समन्वयबारे आयोजित कार्यक्रममा राजदूतावास र एनआरएनएका पदाधिकारीहरूले ५ सय ५० सिलिन्डर आगामी मे १५ मा ल्याउने भएको बताएका हुन् ।

ओमनस्थित नेपाली राजदूतावास शर्मिला पराजुली ढकालका अनुसार मध्यपूर्वलगायत अन्य देशमा आबद्ध भएका नेपालीहरूको सहयोगमा सिलिन्डर पठाउन सक्ने भएको बताइन् । जसमा एनआरएनको ठूलो भूमिका रहेको जनाउँदै आगामी दिनमा पनि सो अभियानलाई निरन्तर दिन अनुरोध गरिन् ।

‘कोभिडले गर्दा देशमा सिलिन्डर तथा अक्सिजनको चरम अभाव भएको छ । यस समयमा कसरी सहयोग गर्न सकिन्छ भनेर विभिन्न संघसंस्था र एनआरएनसँग छलफल गर्यैं । सोही अनुसार सरकारसँग सहकार्य गरेर ५ सय ५० पठाउने तयारी गर्न सफल भएको हो,’ उनले भनिन् ।

त्यसैगरी एनआरएनएको मध्यपूर्वको संयोजक आरके शर्माले देशमा सिलिन्डरको चरम अभाव भएको अवस्थामा मध्यपूर्वमा आबद्ध भएका सम्पूर्ण नेपालीहरूको सक्रिय सहकार्यले छिटोभन्दा छिटो सिलिन्डर प्रदान गर्न सफल भएको बताए ।

साथै, आगामी दिनमा पनि एनआरएनएबाट प्रदान गर्ने सहयोग अभियान निरन्तर साथ दिने जिकिर गरे । हाल सरकारलाई पठाउन लागेको ५ सय ५० सिलिन्डर ६३ हजार ७ सय अमेरिकी डलरमा खरिद गरी पठाउने भएको उनले बताए ।

एनआरएनएको उपाध्यक्ष बद्री केसीले गत वर्ष पनि कोभिडको समयमा विभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्न सफल भएको जनाउँदै यो वर्ष एनआरएनएले सकेजति सहयोग गर्न छलफल भइरहेको बताए । उनका अनुसार अहिले एनआरएनए र विभिन्न संघसंस्थाको सहयोगमा ५ सय ५० सिलिन्डर प्रदान गर्ने भएको छ । सो सिलिन्डर नेपाल ल्याउनको लागि सरकारले सहयोग गर्ने भएको छ भने बाँकी सबै व्यवस्थापन गर्नको लागि मध्यपूर्वमा रहेको एनआरएन र राजदूवासले गर्ने भएको छ

ओमनबाट नेपाल पठाउने भनिएको उक्त सिलिन्डर देशका सातै प्रदेशका सरकारी अस्पतालमा प्रदान गर्ने छलफल भएको उपाध्यक्ष केसीको भनाइ छ ।

साथै, मे १७ सम्ममा एनआरएनएको सहयोगमा १ सय ७० कन्सर्नट्रेटर चीनबाट नेपाल पठाउने तयारी भएको उनले जानकारी दिए । ‘हालको लागि धेरै नेपालीहरूको सहयोगमा ५ सय ५० सिलिन्डर पठाउन सफल भएको छ । केही दिनमा १ सय ७० वटा कन्सर्नट्रेटर पठाउने भएको छ । साथै, आगामी दिनमा ५०० वटा जति कन्सर्नट्रेटर नेपाल पठाउने विषयमा विभिन्न देशमा आबद्ध भएको एनआरएनले पैसा उठाइरहेको छ,’ उनले भने ।

चीनबाट ल्याउने भनिएको कन्सर्नट्रेटर विभिन्न देशमा रहेको एनआरएनएको सहयोगमा १ सय वटा र चीनमा आबद्ध भएको नेपालीको सहयोगमा ७० वटा कन्सर्नट्रेटर पठाउने भएको उनले बताए


क्लिकमान्डु