उपप्रधानमन्त्री र उपत्यका मेयर फोरम बैठकः ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव



काठमाडौं । काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेसन केन्द्र संचालन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग फोरमले गरेको छलफलका क्रममा यस्तो प्रस्ताव गरेको हो । त्यस्तै, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि पनि मेयर फोरमले पहलकदमी लिने भएको छ ।

फोरमसँगको छलफलपछि उपप्रधानमन्त्री पोखरेलले कोभिड १९ विरुद्धको लडाईंमा सरकारलाई साथ दिन र संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे ।

राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उपप्रधानमन्त्री पोखरलको भनाई छ ।

बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता थियो ।


क्लिकमान्डु