निषेधाज्ञायता थपिए १ लाख ११ हजार संक्रमित, १ हजार ४१ जनाले गुमाए ज्यान



काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि संक्रमणदर भने बढेको बढ्दै गरेको छ ।

पछिल्लो १४ दिनमा मात्रै १ लाख १० हजार ९८९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

अस्पतालमा बेड पाउने अवस्था छैन भने आईसीयू, एचडीयू र भेन्टिलेटर पाउनु भनेको भाग्यकै भर जस्तै भएको छ । बेड खाली नहुँदा संक्रमितहरु अस्पताल बाहिरपट्टीका पिँढीमै अक्सिजन लिन बाध्य भएका छन् ।

स्वास्थ्यकर्मीहरुले हाम्रो स्वास्थ्य प्रणाली कोल्याप्स भइसकेको बताइरहँदा प्रधानमन्त्री भने अझै पनि ‘अण्डर कन्ट्रोल’ भन्दै झुट बोलिरहेका छन् । प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर चौतर्फी आलोचना समेत भएको छ ।

निषेधाज्ञाका कारण एकातिर भोक र रोग लागेर मर्ने अवस्था सिर्जना भएको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या बढेको छ भने अस्पतालमा अक्सिजनको अभाव समेत हुँदै गएको छ । जसका कारण कतिपय निजी अस्पतालले अक्सिजनको अभावमा बिरामीलाई डिस्चार्ज गर्न आग्रह गर्न थालिसकेका छन् ।

यसैबीच स्वास्थ्य संकटकाल लगाउने विषयमा पनि चर्चा नभएको होइन तर सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन ।

स्वास्थ्य मन्त्रालयले २ साता अघि गरेको प्रक्षेपणमा कोरोना भाइरस संक्रमणको दर यसैगरी बढेमा जेठको पहिलो सातादेखि असारसम्म दैनिक १० हजार संक्रमित पुग्ने बताएको थियो । तर स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको २ साता अघि नै त्यो आँकडा छोइसकेको छ ।

यता राजनीतिक दलहरु सरकार बनाउने र ढाल्ने खिचातानीमा उल्झँदा आमनागरिकहरु भने अस्पतालमा बेड नपाएर मर्नुपर्ने अवस्था आएको छ । जसलाई सरकारले गम्भीररुपमा लिएको देखिन्न ।

कस्तो छ संक्रमण दर ?
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार वैशाख १६ गतेदेखि २९ गतेसम्ममा १ लाख १० हजार ९८९ जना थप संक्रमित भएका छन् । जसले कोरोना संक्रमतिको आजसम्मको कुल संख्या ४ लाख २२ हजार ३४९ पुर्याएको छ ।

नेपालमा कोरोना संक्रमणको पहिलो केस २०७६ सालको फागुन ३ गतेदेखिएको थियो । तथ्यांक केलाउने हो हालसम्म नेपालमा पत्ता लागेको कुल संक्रमितमध्ये पछिल्लो १४ दिनमा संक्रमित हुनेहरु ७४ प्रतिशत छन् । त्यसैगरी कुल कोरोना संक्रमितको मृत्युमध्ये पछिल्लो १४ दिनमा ७५.५२ प्रतिशतको मृत्यु भएको छ ।

कुल पीसीआर परीक्षणमध्ये पछिल्लो १४ दिनमा मात्रै औसतमा ४३ प्रतिशतमा संक्रमित भएको देखिएको छ । यस हिसाबले हरेक घरमा कोरोना प्रवेश गरेको देखिएको छ ।

बढ्यो मृत्युदर
नेपालमा हालसम्म कोरोना संक्रमित ४ हजार २५२ जनाको मृत्यु भइसकेको छ । तर तथ्यांकलाई केलाउने हो भने पछिल्लो १४ दिनमा मात्रै १ हजार ४१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । र, यो औसतमा ७४ जनाभन्दा बढी हो र मृत्युको संख्या हरेक दिन १ सयभन्दा बढी भइरहेको छ ।

अक्सिजनको अभाव
कोरोना संक्रमित भइ गम्भीर अवस्थामा अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ । जसमध्ये अधिकांशलाई अक्सिजन अत्यावश्यक भइसकेको छ । तर अक्सिजनको अभाव दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

केही दिन अघि मात्रै सरकारले अक्सिजनको अभाव नभएको बरु अक्सिजन सिलिण्डरको अभाव भएको बताउँदै आएको थियो । तर अहिले अक्सिजनको अभाव चरम उत्कर्षमा पुगेको देखिएको छ । सरकारले बिग्रेका अक्सिजन प्लान्ट बनाउन थालेको छ भने केही अस्पतालमा लिक्वीड अक्सिजनको प्रयोग शुरु गरिएको छ । छिमेकी मुलुक चीनबाट अक्सिजनको सिलिण्डर आयात शुरु भइसकेको छ भने अन्य देशबाट पनि अक्सिजनको सिलिण्डर ल्याउन शुरु गरिएको छ ।


क्लिकमान्डु