जसपा फकाउन ओलीले भने- संविधान संशोधनका लागि कार्यदल गठन गर्न सकिन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान संशोधन कार्यदल बनाएर सुझाव माग्ने र सोहिअनुसार संशोधन गर्न सकिने ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सोमबार आफूमाथि प्रतिनिधि सभाको विस्वास छ भन्ने प्रस्ताव पेश गर्न डाकिएको संसदको विशेष अधिवेशन यस्तो बताएका हुन् ।
‘आवश्यकताका आधारमा र देशलाई अगाडि बढाउने सवालमा संविधान परिमार्जन हुँदै जान्छ । सरकार सबै पक्षसँग छलफल गर्न तयार छ । संविधानको संशोधनका लागि कार्यदल बनाएर सुझाव मस्यौदा तयार पार्न सकिन्छ,’ ओलीले भने, ‘संविधान असंशोधनीय दस्तावेज होइन भनेर मैले बारम्बार भन्ने गरेको छु ।’
संविधान संशोधनको मुद्दा संसदमा जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएको छ । जसपाले प्रधानमन्त्री ओलीको पक्ष वा विपक्ष मतदान गर्ने अस्पष्टताकै बीच ओलीले भने जसपाको मुद्दामाथि छलफल गर्न सरकार तयार रहेको संसदमै बोलेका हुन् ।
‘परिवर्तनका आवस्यकता अनुरुप समानुकुल ढंगले संविधानमा संशोधन गर्न सकिन्छ । संविधान कार्यान्वयनका क्रममा भोगेका अप्ठ्यारालाई पनि हामी सहज बनाउन सक्छौं,’ ओलीले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले आफूमाथि अविश्वासको प्रस्ताव अस्वभाविक रहेको पनि जिकिर गरे ।
‘वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन । सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन,’ ओलीले भने, ‘अहिले आवद्धता वा संलग्नतालाई हेरेर होइन, सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ ।’