महिला लघुवित्तको यात्रामा ब्रेक, सेयर मूल्य घट्न थाल्यो



काठमाडौं । दोस्रो बजारमा आइपीओ सूचिकृत भएसँगै लगातारा सकारात्मक सर्किटका साथ अघि बढेको महिला लघुवित्त वित्तीय संस्थाको यात्रामा ब्रेक लागेको छ ।

साताको पहिलो दिन आइतबार महिला लघुवित्तको सेयरमा बिक्री गर्ने बढेसँगै साढे ११ बजेसम्म ६.७६ अंकले गिरावट देखिएको छ । यद्यपि बिक्री गर्नेको तुलनामा खरिद गर्नेको संख्या भने ठूलो छ ।

प्रि-ओपनिङमा सेयर मूल्य उकालो लागेको थियो ।

कूल चुक्ता पूँजी १० करोड बराबर रहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण मात्रै ५ अर्ब माथि पुगेको छ । कम्पनीको संस्थापक सेयर ६ लाख कित्ता र सर्वसाधारणको सेयर ४ लाख कित्ता बराबर रहेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ६ करोड ४२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । उक्त नाफा गत वर्षको भन्दा २११२.५४ प्रतिशत बढी हो ।

गत वर्ष कम्पनीले ३ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६१.६५% र १४९.९०% बढेको विवरणमा उल्लेख छ ।

कम्पनीले गत वर्ष ९ करोड ९२ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १६ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ३ करोड १७ लाख रुपैयाँबाट बढाएर ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

गत चैत मसान्तसम्म यसले ८६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ रहेको छ । महिलाको खराब कर्जा पनि २.५३% बाट घटेर २.२५% झरेको देखिन्छ । कम्पनीकोे प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा रहेको छ । महिलाले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जम्मा ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।


क्लिकमान्डु