कोरोनाको हटस्पट भारत, एकै दिन ४ लाख बढी संक्रमित, ४ हजारको ज्यान गयो



एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको संकट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या २ करोड १५ लाख पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप ३ हजार ९१५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २ लाख ३४ हजार पुगेको हो ।

हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा ५ लाख ९४ हजार तथा ब्राजिलमा ४ लाख १७ हजारको ज्यान गइसकेको छ ।

भारतमा अझै पनि ३६ लाख ४५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित झण्डै ७९ हजार व्यक्ति थपिएका थिए । मन्त्रालयका अनुसार हालसम्म १ करोड ७६ लाख १२ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ४० लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।
यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को २९ करोड ८६ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन १८ लाख २६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

बुधबार मात्र भारत सरकारका मुख्य वैज्ञानिक सल्लाहकार के. विजय राघवनले कोरोना संक्रमणको दर उच्च भइरहे भारतमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिएका थिए । तर उनले तेस्रो लहर कहिले आउँछ भन्ने बारेमा अझै प्रष्ट भइनसकेको पनि बताएका छन् ।

कोरोनाका कारण भारतको अर्थतन्त्र हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त भएको सहयोग समेत प्रभावित क्षेत्रमा नपुगेको भन्दै भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारको चर्को अलोचना भएको छ । केन्द्र सरकार रक्षात्मक बनेको छ । राजय सरकारहरुले सकेसम्म कोरोना प्रभावितको उपचार गर्ने प्रबन्ध गरेपनि त्यो पुग्दो हुन सकेको छैन ।

पछिल्लो पटक २५ अन्तर्राष्ट्रिय उडानबाट ३०० टन राहत सामग्री प्राप्त भएपनि त्यसको सदुपयोग भएको छैन ।

अस्पतालहरुमा कोरोना पीडितको भीड लागेको छ । कसलाई उपचार गर्ने, कसलाई नगर्ने भन्ने अवस्थामा स्वास्थ्कर्मी पुगेका छन् । अस्पतालहरुमा अक्सिजनको चरम अभाव देखिएको छ । हरेक विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिने मोदी पछिल्ला दिनमा चुपचाप छन् । किनकी, देश सामान्य अवस्थामा चलेको छ भन्ने शैलीमा सरकार लागिपरेको छ । खोप तथा स्वास्थ्य सामग्रीहरु विमानस्थलमा थुप्रिएको भएपनि प्रभावित क्षेत्रमा पुर्याउन पहल नभएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमममा समेत मोदीको आलोचना भएको छ । भारतका विभिन्न अदाललते सरकारलाई सुतुरमूर्गको नाम दिएका छन् । उनीहरुले सरकार जनताको स्वास्थ्यप्रति लापरवाह भएको बताएका छन् ।


क्लिकमान्डु