६० प्रतिशतले घट्यो पेट्रोलियम पदार्थको खपत



काठमाडौं । सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत ६० प्रतिशतले घटेको छ ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले गत १६ गतेबाट लागू गरिएको निषेधाज्ञाले गर्दा पेट्रोलियम पदार्थको खपत ६० प्रतिशतले घटेको हो ।

गत वर्ष पनि विश्वव्यापी रुपमा फैलिएको कोेरोना भाइरस महामारीका कारण सरकारले लकडाउन गरेको अवस्थामा पेट्रलियम पदार्थको खपत ह्वात्तै घटेको थियो । सो अवधिमा सम्पूर्ण क्रियाकलाप ठप्प हुँदा पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले घटेको थियो ।

यो वर्ष पनि दोस्रो लहरको कोरोना भाइरस महामारीका कारण गरेको निषेधाज्ञाले पेट्रोलियम पदार्थको खपतमा गिरावट आएको विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा हुनुभन्दा अघिको समयमा दैनिक २५ सय किलोलिटर पेट्रोल खपत हुँदै आएकोमा निषेधाज्ञापश्चात दैनिक १ हजार किलोलिटर पेट्रोल खपत भइरहेको बताए ।

त्यस्तै, सार्वजनिक यातायातलगायत अन्य सवारी साधनमा प्रयोग हुने डिजेलको खपत पनि ४२ प्रतिशतले घटेको छ । सामान्य अवस्थामा दैनिक ७ हजार किलोलिटर खपत हुँदै आएको डिजेल निषेधाज्ञा लागू भएँकगै ४ हजार किलोलिटर डिजेल खपत हुँदै आएको उनले जानकारी दिए ।

उनका अनुसार हाल देशभर निषेधाज्ञा लागू नभएकाले थोरै मात्रामा भए पनि खपत भइरहेको बताए ।

‘गत वर्षको जस्तो देशभर लकडाउन र निषेधाज्ञा लागू भएको छैन । हाल ५२ वटा जिल्लामा मात्रै निषेधाज्ञामा लागू भएको छ,’ उनले भने, ‘अझै अन्य जिल्लाहरूमा निषेधाज्ञा लागू भएमा क्रमिकरुपमा पेट्रोलियम पदार्थको खपत कम हुँदै जानेछ ।’

सामान्यतया मानिसको हिँडडुल कम, निर्माण कार्य ठप्प भएमा र यातायातको काम कम हुँदै गएमा स्वतः पेट्रोलियम पदार्थको खपत घट्ने गर्दछ । यस्तै अहिले काठमाडौं विभिन्न गतिविधि ठप्प अवस्थामा रहेको छ । यसले गर्दा पेट्रोलियम पदार्थको खपत घट्नु स्वाभाविक रहेको उनी बताउँछन् ।

‘सामान्य अवस्थामा काठमाडौंमा साढे ७ सय किलोलिटर पेट्रोल खपत हुनेमा अहिले २ सय किलोलिटरभन्दा कम पेट्रोल खपत हुन थालेको छ । साथै, विगतको दिनमा दैनिक १ हजार किलोलिटर डिजेल खपत हुने काठमाडौंमा अहिले ५ सय किलोलिटर डिजेल पनि खपत भएको छैन,’ उनले भने ।

सरकारले गत १६ गतेबाट निषेधाज्ञा लागू गरेको छ । सो निषेधाज्ञा देशका विभिन्न जिल्लाहरूमा लागु भएमा र अझ थप कडाइ भएमा पेट्रोलिय पदार्थको खपत अझै घट्ने उनको अनुमान छ ।

‘निषेधाज्ञामा पनि ढुवानीको सवारी साधन तथा अत्यावश्यक सवारी साधनलाई नरोक्ने भनिएको छ । यसले गर्दा अत्यावश्यकबाहेक अन्य सामान्य सवारी साधन चल्न नदिने हो भने गत वर्षको झैं खपत घट्नेछ,’ उनले भने ।

त्यस्तै, हवाई इन्धन पनि दैनिक साढे ३ सय किलोलिटर खपत हुँदै आएकोमा अहिले २ सय किलोलिटर मात्रै खपत भएको उनले बताए ।


क्लिकमान्डु