निषेधाज्ञाले उद्योग प्रतिष्ठान बन्द हुँदा बिजुलीको माग घट्यो, पिक डिमाण्ड १२२२ मेगावाट मात्रै



काठमाडौं । सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि झण्डै देशव्यापी रुपमा नै निषेधाज्ञा जारी गरेपछि बिजुलीको खपतमा उच्च गिरावट आएको छ ।

प्रमुख औद्योगिक करिडोरमा रहेका उद्योग तथा प्रतिष्ठान सीमित क्षमतामा मात्रै चलेका छन् । केही खाद्य तथा खाद्यान्न उद्योग मात्रै सञ्चालनमा छन् । त्यसबाहेकका अन्य धेरै जसो उद्योगबाट विजुलीको माग नै आएको छैन ।

औद्योगिक करिडोरमा जोडिएका अधिकांश सवस्टेशनको फिडरमा कुनै पनि लोडको महसुस नै हुन छाडेको प्राधिकरणको भारप्रेषण केन्द्रले जनााएको छ । निषेधाज्ञाको समय बढ्दै जाँदा थप बिजुलीको मागमा समेत गिरावट आउने देखिएको छ ।

प्राधिकरणका अनुसार हाल पिक डिमाण्ड मात्रै १ हजार २२२ मेगावाट रहेको छ । यो पनि साँझको समयको केही मिनेटको मात्रै हो । निषेधाज्ञाका कारण दिनभरी मानिस घरमै भएपनि बिजुलीको खपतको टे«ण्डमा कुनै परिवर्तन देखिएको छैन ।

प्राधिकरणका सम्वद्ध अधिकारीका अनुसार सामान्य समयमा प्राधिकरणको प्रणालीमा झण्डै १ हजार ८८५ मेगावाटसम्म माग हुने अपेक्षा थियो । तर, पछिल्ला दिनमा निषेधाज्ञाका कारण अझै माग घटेर ८०० मेगावाटदेखि ७५० मेगावाट भन्दा तल झर्ने सम्भावना देखिएको छ ।

किनकी घरायसी प्रयोगमा हुने बिजुलीको खपत ग्राहक बढी भएपनि कम हुने गरेको छ ।

प्राधिकरणको प्रणालीमा प्राधिकरणको आफ्नै प्लान्टबाट ४ हजार ७३७ मेगावाट घण्टा बिजुली प्रवाह हुने गरेको छ । यस्तै, निजी क्षेत्रको ५ हजार २१२ मेगावाट घण्टा बिजुली प्रवाह गरेको छ ।

यस्तै, भारतबाट १५ हजार ९१४ मेगावाट घण्टा बिजुली आयात भएको छ । कूल माग भने २५ हजार ८६३ मेगावाट घण्टा रहेको छ ।


क्लिकमान्डु