सेयर बजारमा उछाल, नेप्से ५४ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो



काठमाडौं । निषेधाज्ञाको चौथो दिन सेयर बजारमा उछाल देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५३.९९ अंकले बढेर २६६५.११ अंकमा पुगेको छ ।

यो दिन कारोबार रकममा पनि बढोत्तरी भएको छ । यो दिन १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर ७ अर्ब ३६ करोड ८ लाख ५०० रुपैयाँमा कारोबार भएको छ । यो दिन १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा विशाल बजार, महिला लघुवित्त र सिंगटी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनीको ९.९८ प्रतिशत, महिला लघुवित्तको ९.८ प्रतिशत र सिंगटी इनर्जीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । त्यसगरी सानिमा जनरल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा पनि उछाल देखिएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा एभरेष्ट बैंक, सनराइज फस्ट म्यूचुल फन्ड, एनआइबीएल समृद्धि फन्ड–१, नेपाल हाइड्रो डेभलपर्स र नारायणी डेभलपमेन्ट बैंक छन् ।

कारोबार रकमका आधारमा एनसीसीबी बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हिमालयन डिस्टिलरी कम्पनी अगाडि छन् ।


क्लिकमान्डु