सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डबाट पायो अनुमति
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको ७५ करोड रुपैयाँको ऋणपूँजी रकम बराबरको ऋणपत्र ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको १ हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिबेञ्चर निष्कासन गर्न अनुमति पाएको हो ।
७५ करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र (सोमध्ये ५ प्रतिशत अर्थात् १५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ ।
ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाइने बैंकले जानकारी दिएको छ ।
बैंकको ऋणपत्र निष्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने डिबेञ्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।