लकडाउनले जनगणना प्रभावित नहुने, निर्बाध काम गर्न दिन जिल्ला प्रशासनलाई गृहको निर्देशन



काठमाडौं । १२औं राष्ट्रिय जनगणना पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालयन गर्न दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस महामारी तथा रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन जारी गर्ने तथा आवत–जावतमा रोक लगाइरहेको अवस्थामा जनगणनाको कामलाई भने निरन्तरता दिने गृहले मंगलबार निर्देशन दिएको हो । सबै जिल्ला प्रशासन कार्यालयलाई जनगणनाको कार्यलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई निरन्तरता दिन र बिना अवरोध संचालनका लागि आवश्यक समन्वय गर्न भनिएको छ ।

केन्द्रीय तथ्यांक विभागकाअनुसार सबै प्रदेश र जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन भने जनगणनाका सबै तयारी पूरा भइसकेको छ ।

विभागले जनगणनाका लागि तयार पारेको कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनअन्तर्गत घर तथा घरपरिवारलाई सूचीकरण कार्य बैसाख २६ गतेदेखि जेठ १४ गतेसम्म र मुख्य गणना कार्य जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ ।

त्यस्तै बैसाख १६ गतेदेखि २२ गतेसम्म सुपरीवेक्षक तालिम र जेठ १७ गतेदेखि २२ गतेसम्म गणक तालिम सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।


क्लिकमान्डु