प्राइम बैंकको खुद नाफामा ३८.७६ %को वृद्धि, वितरण योग्य नाफा २ अर्ब २० करोड रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक प्राइम कमर्सियल बैंकले खुद नाफा ३८.७६ प्रतिशतले वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ७८ करोड ७० लाख रुपैयाँले थप गरी २ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब २० करोड ४ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ १७.६५ प्रतिशत र कर्जा प्रवाहतर्फ १६.६८ प्रतिशतको वृद्धि गरेको छ ।

चालु आवको चैत मसान्तसम्म १ खर्ब ४० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ४ अर्ब ४० करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३१.८९ प्रतिशतले बढी हो ।

साथै, सो अवधिमा बैंकको सञ्चालन आम्दानी समेत ४१.९९ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ४ अर्ब ६ करोड ४४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ५ अर्ब ७७ करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात ०.८६ प्रतिशत, बेसरेट ७.१४ प्रतिशत, स्प्रेडरेट ४.३८ प्रतिशत, सीसीडी रेसीयो ८२.३१ प्रतिशत र पुँजी कोष अनुपात १४.०७ प्रतिशत रहेको छ । साथै, चालु आवको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा, मूल्य आम्दानी अनुपात १९ रुपैयाँ ३१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ८८ पैसा र तरलता अनुपात २३.१२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु