प्रभु सेलेक्ट फण्डको १ अर्ब रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्न बोर्डले दियो अनुमति
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।
बोर्डले २०७७ बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो ।
प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ जसमा १० करोड युनिट रहनेछन् ।
प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । कुल १० करोड युनिटमध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन भने बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ ।
प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक रहने कम्पनीको दावी छ ।
यसले एक पटकमा बढीमा ३० वटासम्म कम्पनीमा लगानी गरी आफ्नो अलग्गै बेञ्चमार्क बनाउनेछ । जसलाई नेप्से ३० बेञ्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन ।
७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।
आफूसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताहरुले ढुक्कसँग यो सामुहिक लगानी योजनामा लगानी गर्न सक्नेछन ।
प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पूँजी बजारमा उपलब्ध सबैखाले स्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ ।
हालको अवस्थामा पनि क्यापिटलले विभिन्न स्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ ।