बैशाख २१ गतेदेखि मध्यभोटेकोशीको आइपीओ बिक्री खुल्ला हुँदै



काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बैशाख २१ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ६० लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो ।

६ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख ९ गते १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको थियो ।

जसमध्ये पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानियका लागि चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले चुक्ता पुँजीका १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आइपीओ सर्वसाधारणका लागि दोस्रो चरणमा बिक्री खुल्ला गर्ने उल्लेख गरेको छ ।

आयोजना प्रभावित स्थानियका लागि पहिलो चरणमा बिक्री गरिने ६० लाख कित्ता आइपीओमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा १, ५, बाह्रबिसे नगरपालिका वडा ५,६,७,८ का स्थायी बसोबास स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । बाँकी ४२ लाख कित्ता आयोजना प्रभासवत क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य स्थानिय बासिन्दाका लागि छुट्टाइएको छ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइमएई क्यापिटल रहेको छ । साथै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, सिभिल क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।

कम्पनीको आइपीओ खरिद गर्न इच्छुक स्थानिय बासिन्दाका लगानीकर्ताले जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा आवेदन सिन्धुपाल्चोक जिल्लाका ग्लोबल आइएमई, लक्ष्मी, मेगा, नेपाल क्रेडिट एण्ड कमर्श, सिन्धु विकास, नेपाल इन्भेष्टमेन्ट, सिभिल, प्रभु, नेपाल बंगलादेश, कुमारी, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका शाखा कार्यालयबाट दिन सक्ने उल्लेख गरिएको छ ।

कम्पनीलाई आईपीओ निष्काशनका केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


क्लिकमान्डु