संसारकै लामो नदी नाइललाई लिएर चर्कदै संकटः बाँधले निम्त्याएको तीन देशको विवाद, कसरी होला हल ?

क्लिकमान्डु २०७८ वैशाख २ गते १२:५६ मा प्रकाशित

एजेन्सी । पछिल्ला दिनमा संसारकै लामो नदी नाइलको विषयलाई लिएर अफ्रिाकामा चर्को विवाद भएको छ । विवादका कारण अफ्रिाकाका केही देशकाबीचमा सम्बन्ध नै उतारचढावपूर्ण रहने अवस्था आएको छ । सोही अवस्थालाई समाधानका लागि सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गरेका छन् ।

इथियोपियाको विशाल यस बाँध परियोजनालाई लिएर सुडान, इथियोपिया र इजिप्टबीच विवाद उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत साता, अफ्रिकी युनियनको अध्यक्ष मुलुक कंगोले आयोजना गरेको तीन देशबीचको वार्ता सहमतिमा पुग्न सकेको थिएन । इथियोपियाले निर्माण गरिरहेको बाँध र यसबाट सिर्जना हुने विशाल जलभण्डारको विवादले तीनै देशबीच तनाब सिर्जना गरेको छ ।

सन् २०११ मा निर्माण शुरु भएयता इजिप्टले यस बाँधका कारण आफ्नो देशमा पानीको आपूर्तिको अस्तित्वमाथि नै चुनौती सिर्जना हुने बताउँदै आएको छ । इथियोपियाले निर्माण गर्ने बाँधले सिर्जना गर्ने जलभण्डार आफ्नो लागि खतरा हुने सुडानको भनाई छ ।

सुडानको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री अब्दल्ला हमडकले आफ्ना समकक्षी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौली र इथियोपियाका प्रधानमन्त्री अबिय अहमदलाई १० दिनभित्र शिखर बैठकका लागि आमन्त्रण गरेको उल्लेख छ ।

सुडानी प्रधानमन्त्री हमडकले बाँधको निर्माण निरन्तर भइरहेको र बाँधले पूर्णता पाउनुअघि निश्चित विषयमा सहमति र सम्झौता हुनुपर्नेमा जोड दिनु भएको छ ।

वक्तव्यमा प्रस्तावित शिखर बैठक भिडियो कन्फरेन्सका माध्यमबाट हुने उल्लेख छ । गत साता इथियोपियाले बाँध सम्बन्धी विस्तृत विवरण इजिप्ट र सुडानलाई उपलब्ध गराउने प्रस्ताव गरेको थियो, तर उक्त प्रस्तावलाई इजिप्ट र सुडानले अस्वीकार गरिदिएका थिए ।

इथियोपियाले नाइल नदीमा निर्माण हुने विशाल जलविद्युत आफ्नो देशको विकासका लागि अतिआवश्यक रहेको बताउँदै आएको छ । तर इजिप्ट र सुडानले बाँध पूर्ण कार्यान्वयनमा आउनुअघि त्रिपक्षीय सम्झौता हुनुपर्ने माग गर्दै आएका छन् । कूल ६ हजार ५० किलोमिटर लामो उक्त नदी सभ्यतासँग पनि जोडिएको छ । परापूर्वकालदेखि नै नाइल सभ्यताको नाम पनि रहँदै आएको छ ।

नदीमा सन् २०१९ को विवरण अनुसार कूल २५ वटा बाँध बाधेर जलविद्युत् तथा सिंचाइका लागि पानीको उपयोग गरिएको छ । सो नदीबाट मात्रै हालसम्म २६ हजार मेगावाट बिजुली उतपादन गरिएको छ । इजिप्टमा मात्रै सो नदी र सहायक नदीमा मात्रै २८०० मेगावाट बराबरको बिजुली उतपादन गरिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स