हरेक १७ घण्टामा थपिन्छन् अर्बपति, न्यूयोर्कमा भन्दा बेइजिङमा अर्बपतिको संख्या धेरै



एजेन्सी । कोरोनाले संसारलाई नै तवाह पारीरहेको छ । सन् २०१९ को डिसेम्बरदेखि शुरु भएको कोरोनाको दोस्रो लहर पुनः शुरु भएको छ । सोही कारण यतिबेला यूरोप, दक्षिण अमेरिका, भारतजस्ता देश बढी प्रभावित भएका छन् ।

संकटलाई नै कमाई गर्ने अवसर बनाएका संसारका एकाध मानिस दिनप्रतिदिन धनी बन्दै गएका छन् । धनीहरु झन् बढी धनी हुने र गरिब झनै गरिब हुने अवस्थाको सिर्जना भएको छ । कोरोनाकाल नै सबैधन्दा धनी बनाउने वर्षको रुपमा चित्रण भएको छ ।

पछिल्लो १ वर्षको विवरणका आधारमा धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले कोरोनाकालमा नै सबैभन्दा धेरै धनी थपिएको विवरण दिएको छ ।

सोही पत्रिकाका अनुसार हरेक १७ घण्टामा नयाँ अर्बपति थपिएका छन् । कोरोनाले संसारभरकै आर्थिक गतिविधि सुस्त भएपनि सेयर बजारमा देखिएको तेज गतिको वृद्धिले धेरै अर्बपति बनाइरहेको छ । किनकी सेयर बजारमा देखिएको उच्च अंकको वृद्धिका कारण धनीहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

फोब्र्सका अनुसार सबैभन्दा धेरै अर्बपति भएको सहर चीनको राजधानी बेइजिङ भएको छ । पछिल्ला दिनमा आर्थिक उदारीकरणमा अगाडि बढेको चीनले अर्बपतिको संख्यामा देखिएको वृद्धिले पश्चिमाहरुलाई दबाव दिन सक्ने हैसियत बनाएको छ ।

फोब्र्सको नयाँ सूचीअनुसार बेइजिङमा गत वर्ष मात्रै थप ३३ अर्बपति समेटिएका छन् । यो आफैंमा चीनका लागि समेत खुसीको विषय बनेको छ ।

फोब्र्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेपछि सो सम्बन्धी विवरण पश्चिमा सञ्चार माध्यमहरुका भाइरल भएको छ ।

गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । यो राजधानीको संख्या हो । चीनमा मात्रै झण्डै ७०० जना अर्बपति रहेका छन् । उनीहरुको कूल सम्पत्ति २.५ ट्रिलियन डलर रहेको छ ।

विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन् । चीनले कोरोनाभाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको जनाइएको छ ।

धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ । त्यहाँका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ ।

बेइजिङका सबैभन्दा धनी टिकटकका संस्थापक ज्याङ यिमिङसँग ३५.६ अर्ब डलर सम्पत्ति छ । न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसँग ५९ अर्ब डलर सम्पत्ति छ । अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा २१० अर्बपति थपिएको बीबीसीले जनाएको छ ।

फोर्ब्सको सूचीमा अहिले अमेरिकाका ७२४ अर्बपति छन् भने चीनका ६९८ अर्बपति छन । गत वर्ष संसारभरिबाट ४९३ नयाँ अर्बपति थपिएका छन्। यसको अर्थ औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएका छन् । भारतमा १४० अर्बपति छन् जसले भारतलाई तेस्रो स्थानमा उभ्याएको छ ।

संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा अमेजनका जेफ बेजोस छन । गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति एक खर्ब ७७ अर्ब डलर पुगेको थियो । हाल उनको सम्पत्ति १९७.९ बिलियन डलर रहेको छ । दोस्रो स्थानमा एलन मस्क रहेका छन् । उनको सम्पत्ति १८४.३ बिलियन डलर रहेको छ । यस्तै तेस्रो स्थानमा बेनार्ड आर्नालुट र उनको परिवार रहेको छ । उनको सम्पत्ति १७५.५ बिलियन डलर छ ।

चौथो स्थानमा बिल गेट्स छन् । उको १३०.७ बिलियन डलर बराबरको सम्पत्ति छ । मार्क जुकरवर्गको सम्पत्ति ११२.९ बिलियन डलर रहेको छ । अर्बपतिको संख्या बढ्दै जाँदा कोरोनाका कारण संसारभर गरिबको संख्यामा पनि उत्तिकै वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार झण्डै ५० करोड मानिसको रोजगारी गुमेको छ । सोही संख्यामा गरिबीको मात्रामा समेत वृद्धि भएको छ ।


पुष्प दुलाल