बुलिस मार्केटको कमालः पुँजी बजारको खेलाडी हाथवे इन्भेष्टमेन्टको आम्दानी १ अर्ब ३० करोड



काठमाडौं । पुँजी बजारको खेलाडीका रुपमा परिचित हाथवे इन्भेष्टमेन्ट प्रालिको आम्दानी ३२.७० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । कम्पनीले बुलिस मार्केटको राम्रो फाइदा लिएको छ ।

हाथवेले सन् २०२० मा ९८ करोड ३० लाख ९० हजार रुपैयाँ आम्दानी गरेकोमा सन् २०२१ मा आम्दानी १ अर्ब ३० करोड ५० लाख ७० हजार रुपैयाँ पुग्ने कम्पनीको अनुमान छ ।

पछिल्लो एक वर्षमा सेयर बजार मापन गर्ने नेप्से परिसूचक दोब्बरभन्दा बढीले बढेको छ । पुँजीबजारमा लगानीकर्ता र कम्पनीहरुको संख्या बढ्दै जाँदा कम्पनीको नाफा अत्यधिक बढेको हो ।

कम्पनीले सन् २०१९ मा ६९ करोड ६० लाख ७० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००९ मा कम्पनी रजिष्टार्ड कार्यालयमा दर्ता भई सन् २०११ देखि पुँजीबजारमा पहिलो लगानी कम्पनीका रुपमा कारोबार शुरु गरेको कम्पनीमा आइएमई ग्रुपको समेत ठूलो लगानी छ । कम्पनीको पुँजी ८५ करोड १० लाख रुपैयाँ छ ।

हाथवे कम्पनीको पुँजीबजारमा सूचिकृत तथा सूचिकृत नभएका कम्पनीमा ठूलो लगानी छ । पुँजीबजार बाहेक रियल स्टेटलगायतमा पनि कम्पनीको लगानी छ । त्यसका साथै कम्पनीले साना तथा मझौला उद्यममा पनि लगानी फैलाएको छ ।

कम्पनीमा सबैभन्दा ठूलो हिस्सा हेमराज ढकालको नाममा छ । ढकालको नाममा कम्पनीमा ३०.१ प्रतिशत हिस्सा छ । उनी आइएमई ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् ।

त्यसबाहेक कम्पनीमा एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट कम्पनीको २८.१ प्रतिशत लगानी छ भने अम्बिका प्रसाद पौडेलको नाममा ९.२ प्रतिशत सेयर स्वामित्व छ । पौडेल हाल नेपाल टेलिकमको सञ्चालकसमेत हुन् ।

त्यसबाहेक कम्पनीमा निमिसा इन्भेष्टमेन्ट प्रालिको ५.७ प्रतिशत सेयर छ । निमिसा इन्भेष्टमेन्ट प्रालि हेमराज ढकालकी छोरीको नामबाट राखिएको हो । त्यसबाहेकको सेयर स्वामित्व अन्य ३२ जनाको नाममा छ ।

कम्पनीले हालै ७० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । उक्त ऋणका लागि कम्पनीले ‘ए थ्री रेटिङ’ पाएको छ ।


पुष्प दुलाल