पेट्रोलको भाउ १२० रुपैयाँ पुर्याएपछि माधव नेपाल निकट विद्यार्थीले गरे निगम घेराउ

क्लिकमान्डु २०७७ चैत २३ गते १७:२६ मा प्रकाशित

NOC

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भरि ध्यानाकर्षण भएको बताए।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने बताउ । यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको बताए ।

निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउने वि त्तिकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारे । यद्यपि विद्यार्थीहरुको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताए । उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पारे ।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ । आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स