बर्ड फ्लु रोक्न सरकार सक्रियः पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण अनिवार्य



काठमाडौं । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले बर्ड फ्लु रोगको नियन्त्रण तथा रोकथामको लागि पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा अनिवार्यरुपमा परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएरमात्र गर्नुपर्ने जनाएको छ ।

विभागले गत माघदेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा पन्छीमा देखापरेको बर्ड फ्लु रोग तत्काल नियन्त्रण गरी अन्य स्थानमा बर्ड फ्लु रोगको निगरानी कार्यलाई नियमितरुपमा सञ्चालन गर्दै आएको छ ।

रोगको निगरानीका क्रममा देशका विभिन्न स्थानबाट नमूना संकलन गरी तत्काल परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सर्भिलेन्सकै क्रममा बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १४ नख्खुमा कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसबाट संकलन गरिएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा चैत १३ गते बर्ड फ्लु रोग निदान भएको विभागको भनाइ छ ।

‘बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरुको परिचालन गरिएको छ । रोग नियन्त्रणका क्रममा पशु सेवा विभाग, बाग्मती प्रदेश, भूमि व्यवस्थालगायतका निकायहरूको समन्वयात्मक परिचालन गरी रोग देखिएको तथा संभावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यसक्रममा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइनुका साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ ।

त्यसैगरी विभागले परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न, सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

साथै, कुनै पनि पन्छी फार्म वा विक्री स्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिककको पशु सेवाका निकायमा सुचना गर्न अनुरोध गरेको छ ।


पुष्प दुलाल