चल्ला उत्पादन गर्ने माउको अभाव, समयमै आयात नहुँदा कुखुराको मूल्य बढ्यो



काठमाडौं । चल्ला उत्पादन गर्ने प्यारेन्ट (माउ) को अभावले बजारमा कुखुराको उत्पादन घट्न थालेको छ । कोरोना भाइरसको महामारीका समयमा लामो समय अन्र्राष्ट्रिय उडान बन्द भएका कारण चल्ला उत्पादन गर्ने प्यारेन्ट कुखुराको अभाव हुँदा बजारमा उत्पादन कम भएको हो ।

लकडाउनको समयमा प्माउ आयात गर्न नसक्दा अहिले प्रत्यक्षरुपमा त्यसको असर परेको कुखुरा व्यवसायीहरू बताउँछन् । बजारमा प्यारेन्टको अभाव भएसँगै कुखुराको उत्पादन कम भएकाले प्रत्यक्ष असर कुखुराको मासुको मूल्यमा परेको उनीहरूको बुझाइ छ ।

केही महिनाअघि चिसो मौसममा उत्पादन कम भई कुखुराको मासुको मूल्य बढेको व्यवसायीहरूले बताएका थिए । साथै, गर्मी मौसम शुरु भएपश्चात् उत्पादन बढ्न गई बजारमा कुखुराको मासुको मूल्य घट्ने अनुमान गरेका थिए ।

तर, सामान्यतया गर्मी महिनामा सस्तिँदै जाने कुखुराको मूल्य यो वर्ष भने झन बढ्दै गएको छ ।

मूल्य बढेर किलोमै ४३० पुग्यो

करिब दुई हप्ता अगाडिसम्म अधिकतम प्रतिकेजी ३८० रुपैयाँमा बिक्री भइरहेको कुखुराको मूल्य अहिले बढेर प्रतिकेजी ४०० सयदेखि ४३० रुपैयाँमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् ।

कारेश्वर मार्गस्थित रहेको ए वान मिट सपका सुमन कार्कीका अनुसार करिब दुईहप्ता अघिसम्म अधिकतम प्रतिकेजी ३९० रुपैयाँमा बिक्री भएको कुखुराको मूल्य अहिले बढेर प्रतिकेजी ४३० मा बिक्री गरिरहेको बताए । साथै, जिउँदो कुखुराको मूल्य प्रतिकेजी ३७५ मा बिक्री गरिरहेको उनले जानकारी दिए ।

व्यवसायीहरूले चैतसम्ममा उत्पादन बढ्न गई बजारमा कुखुराको मूल्य घट्ने अनुमान गरेपनि हाल बजारमा प्यारेन्टको अभाव देखिएपछि अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

कुखुरा उत्पादनमा आबद्ध भएका संघ, महासंघलगायत सम्पूर्ण व्यवसायीहरूले मासुको मूल्य अभाव हुनुको एउटै कारण बताएका छन् प्यारेन्ट अभाव ।

राष्ट्रिय कुखुरा बिक्रेता व्यवसायी महासंघका अध्यक्ष जंगबहादुर बिसीले लकडाउनको समयमा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा प्यारेन्टको आयात गर्न नसकेको बताए । यसले गर्दा अहिले कुखुरा उत्पादन कम हुन गई मूल्य बढेको उनको भनाइ छ । बिसीका अनुसार लकडाउनको असर अहिले देखिएको हो ।

‘लकडाउनले गर्दा सबै अन्तर्राष्ट्रिय उडान बन्द भए, नेपालमा विदेशबाट आयात गर्ने प्यारेन्टको रोटेसन मिलेन, त्यसैले अहिले कुखुराको उत्पादन निकै कम भएकाले मूल्य वृद्धि हुन पुगेको हो,’ बिसीले क्लिकमाण्डूसँग भने ।

हाल प्यारेन्टको अभावले ४० प्रतिशत उत्पादन कम भएको उनको भनाइ छ । बजारमा प्यारेन्टको अभावले उत्पादन कम भएकाले मूल्य बढे पनि आगामी दिनमा घट्ने वा बढ्न सक्ने अनुमान गर्न नसकेको उनले जानकारी दिए ।

‘केही महिनाअघि बजारमा उत्पादनभन माग बढी आउँदा कुखुराको मूल्य बढेर ४ सयमाथि पुगेको थियो, अहिले पनि बजारमा उत्पादनभन्दा माग बढी आएकाले मूल्य बढेको हो,’ बिसीले भने ।

हाल पनि कोरोना तीब्ररुपमा बढी रहेको अवस्थामा कतिपय देशहरू लकडाउनमा गइरहेको हुनाले अझै घट्न नसक्ने उनको अनुमान छ ।

त्यसैगरी नेपाल ह्याचरी संघका अध्यक्ष टिकाराम पोख्रेलले पनि प्यारेन्ट आयात गर्न नसक्दा बजारमा कुखुराको उत्पादन कम हुन गई मूल्य बढेको बताए ।

‘विगतको दिनमा गर्मी लाग्ने वित्तिकै कुखुरा उत्पादन बढ्ने प्रचलन रहिआएको छ । तर, यो वर्ष भने घट्न समय लाग्नेछ,’ ह्याचरी संघ तथा पोल्ट्री संघका अध्यक्ष गुण चन्द्र बिष्टले भने ।

बिष्टका अनुसार कोभिडले गर्दा मार्केटको ग्याप भएकाले बजारमा चल्ला उत्पादन एकतिहाई मात्रै भइरहेको हुनाले कुखुरा उत्पादन कम भएको हो ।

‘व्यवसायीहरूले ५ सयभन्दा बढी मूल्य बढ्छ भन्ने अनुमान गरेको थियो, तर त्यति भएन,’ उनले भने, ‘हाल बजारमा चल्ला उत्पादन एकतिहाई मात्रै उत्पादन भएकाले कुखुरा बढी उत्पादन हुने कुरा हुँदैन ।’

कोभिडको समयमा नेपालका किसानलाई पर्याप्त मात्रामा चल्ला थियो । त्यसबेला कतिपय चल्लाहरू कोरोनाले गर्दा नष्ट गरेको उनको भनाइ छ । व्यवसायीले ४ महिनाको अवधिमा चल्ला नष्ट गर्दा व्यवसायीहरू डुब्नुका साथै, पछिल्लो समय व्यवसायीहरूले प्यारेन्ट माग गर्दा पनि अन्तर्राष्ट्रिय बजारबाट आयात नभएको उनले बताए ।

देशभर वार्षिक रुपमा झण्डै २५ लाख प्यारेन्ट आयात हुन्छ भने करिब ३ लाख मात्रै नेपाली उत्पादित प्यारेन्ट रहेको उनले बताए । त्यसैले सबै अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्ने भएकाले नेपाली उत्पादित कुखुराको मूल्यमा समस्या देखिएको उनको बुझाइ छ ।

नेपालमा चल्ला उत्पादन गर्ने माउ प्यारेन्ट कुखुरा थाइल्याण्ड, फिलिपिन्स, जर्मनीलगायत मुलुकबाट आउने गरेकोमा लकडाउनका कारण प्रभावित बनेको व्यवसायीहरूको भनाइ छ ।

चल्लाको मूल्य बढेको बढ्यै

पछिल्लो समय कुखुराको मासु मात्रै नभएर चल्लाको मूल्य पनि अत्यधिक बढेको छ । जसमा विगतको दिनमा ५० रुपैयाँमा पाउने चल्ला अहिले १०० रुपैयाँभन्दा माथि मूल्य रहेको ह्याचरी संघले जनाएको छ ।

बजारमा प्यारेन्ट कुखुरा अभावले गर्दा चल्ला पनि उत्पादन कम हुँदै गएको व्यवसायीहरू बताउँछन् । ‘विगतको दिनमा पर्याप्त मात्रामा चल्ला उत्पादन हुने गर्दथ्यो, तर यो वर्ष चल्लाको अभाव भएकाले तत्काल प्यारेन्ट आयात गर्दा पनि कम्तिमा ८ महिना चल्ला उत्पादन बढाउनै लाग्दछ,’ अध्यक्ष पोख्रेलले भने ।

त्यसैले आगामी दिनमा पनि चल्लाको अभाव हुन गई उत्पादन कम हुने उनले दाबी गरे । साथै, कुखुराको मूल्य पनि सजिलै ओारालो लाग्ने सम्भावना निकै कम रहेको उनी बताउँछन् ।

राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका विष्णु खड्काले चल्लाको मूल्यले किसान मारमा परेको बताए । उनका अनुसार विगतको दिनमा ३० रुपैयाँमा पाएको चल्लाको मूल्य बढाएर सयभन्दा बढी मूल्य तिर्न बाध्य भएको गुनासो पोखे ।

खड्काका अनुसार बिनाकारण चल्लाको मूल्य बढाएको भन्दै उद्योग मन्त्रालयको मातहतमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ४ पटकसम्म उजुरी गर्दा पनि कुनै सुनुवाई नभएको बताए ।

‘गरिब, किसान तथा मजदुरहरूको पक्षमा बोल्ने कोही हुँदैन रहेछ,’ उनले भने, ‘अबका दिनका कुनै कार्यको सम्बोधन नहुँदा संघर्षको तयारी गरिरहेका छौं ।’

उनका अनुसार लेखेर, ज्ञापनपत्र बुझाएर, बोलेर तथा भेटेर मात्रै नहुने भएकाले आगामी दिनमा सबै किसानले संघर्ष गर्ने तयारी गरिरहेको बताए । साथै, विभागलाई समितिद्धारा ध्यानकर्षण गर्दा पनि यस मुद्दाप्रति जिम्मेवार नरहेको उनको भनाइ छ ।


पुष्प दुलाल