गुराँसको राजधानीमा ‘गोठ द होटल’ नामको होमस्टे सञ्चालनमा



काठमाडौं । रंगीबिरंगी घनघोर जंगल । चराचुरुङ्गगी र झ्याउँकीरीको चिरबिरचिरबिर सुमधुर आवाज । खर्क र नागीहरुमा चौरी गाईं र भेडाहरु चरिरहे । आँखैअघि लमतन्न परेर सुतेका कञ्जनजंघा लगायतका हिमाल । सुर्योदय र सुर्यास्तको मनमोहक दृश्य । तल देखिने फाँट र बेसीको मनै लोभ्याउन दृश्य ।

यो कुनै स्वर्गको बयान होइन । यो त गुराँसको राजधनानी तिनजुरे मिल्के जलजले क्षेत्रमा देखिएको मनमोकह दृश्यहरुको शब्दमा गरिएको बयान मात्रै हो । हो यही स्र्वगजस्तो ठाउँमा स्थानीय युवाहरुले गोठ द होटल नाम गरेको होमस्टे सञ्चालनमा ल्याएका छन् ।

संघुवासभाको मादी नगरपालिका वडा नं. २ मंगलबारे बजारमा आजदेखि औपचारिकरुपमा सञ्चालनमा आएको गोठ द होटल विगत ४ महिनादेखि अनौपचारिकरुपमा सञ्चालन भइरहेको थियो ।

आन्तरिक तथा बाह्य पर्टटकलाई लक्षित गरेर होमस्टे सञ्चालनमा ल्याइएको होटलका सञ्चालक मुराहरी घिमिरे बताउँछन् ।

‘यो क्षेत्रमा होटल खोल्ने एक दशकअघि देखिको मेरो सपना अहिले पूरा भएको छ,’ सञ्चालक घिमिरेले क्लिकमाण्डूसँग भने ।

१२ वर्षसम्म यूरोपका विभिन्न होटल तथा रेस्टुराँहरुमा काम गरेको अनुभव बोकेका जीबन दाहाल घिमिरेका साझेदार छन् । घिमिरेसँग पनि विभिन्न होटलमा काम गरेको अनुभव छ । अहिले उनी मोरङको बिराटनगरस्थित कृषि फार्म पनि सञ्चालन गर्दै आएका छन् । घिमिरे र दादहाललाई त्यहाँको मनमोहक दृश्यहरुले आफ्नै गाउँ फर्कायो ।

‘अब यहीँ बस्छौं,’ घिमिरेले भने ।

उच्च पहाडी भेगमा पर्ने मंगलबारे आफैंमा पर्यटकीय क्षेत्र हो । यहाँबाट मकालु, कन्चनजंघा र कुम्भकर्ण लगायतका हिमालको पदयात्रा पनि शुरु हुन्छ । गुफापोखरी यो क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तब्य हो । हजारौं रोपनी क्षेत्रफलमा फैलिएको तीनजुरे मिल्के जलजले (टीएमजे)लाई चैत बैशाखमा गुराँस फुलेको बेला पुगेको कुनै मान्छेले कहिल्यै भूल्न सक्दैन ।

होमस्टे अहिले २ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसलाई विस्तार गर्नका लागि १० रोपनी जग्गा किनिसकेको घिमिरेले जानकारी दिए । अहिले होमस्टेमा ३० लाख रुपैयाँ लगानी भएको छ । आगामी दिनमा लगानी थप गर्ने उनको सोच छ ।

‘अहिले त विदेशी पर्यटकहरु देखिँदैनन्, आन्तरिक पर्यटकहरुको राम्रो रेस्पोन्स छ,’ उनले भने ।

यो होमस्टेको बिशेषता भनेको उच्च पहाडी क्षेत्रमा उत्पादित अर्गानिक खानेकुरा हो । दाल-भात-तरकारी, गुन्द्रुक, सिस्नु, ढिँढो, लोकलखसी र लोकल कुखुराको मासु होमस्टेको विषेश परिकार हो । बाह्रै महिना चिसो हुने यो ठाउँमा खाने कुराको स्वाद उस्तै मिठो हुन्छ । र, होमस्टेको अर्को विषेशता भनेको गोठमा बसेजस्तो अनुभूति दिलाउने साजसज्जा हो । बाँसका चित्राहरुले बारेको कोठाहरुमा बसेर तपाईंले गोठाले जिवनको अनुभूति पनि गर्न पाउनुहुनेछ । होटको बारलाई काठले सजाइएको छ । र, त्यहाँ काडाँसहित दुम्सीको छला पनि भित्तामा टाँसिएको छ ।

यो हामस्टेमा जाने पर्यटकहरुले आफैं पकाएर खाने सुविधा पनि उपलब्ध गराउँछ । त्यसबाहेक क्याम्पफायर र कल्चरल प्रोग्राम पनि गरिन्छ ।

होमस्टेमा अहिले ५ वटा रुम छन् । एउटा रुपमा ३ वटासम्म बेड छन् । जसअनुसार एकैसाथ ७०/७५ जना पाहुना बस्न सक्नेछन् ।

‘हामी यसलाई विस्तार गर्ने योजनामा छौं,’ सञ्चालक घिमिरेले भने ।

यो होमस्टेमा एक जोडी एकरात बस्न कोठाका लागि १ हजार र सादा खानाका लागि ५ सय रुपैयाँ लाग्ने घिमिरेले जानकारी दिए । क्याम्पफायर, मासु र मदिरा तथा अन्य भेराइटी लिने हो थप बजेट चाहिन्छ ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ । गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् ।

समुद्री सतहदेखि १७०० मिटरदेखि ५००० हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साविकका २५ वटा गाविसमा फैलिएको छ ।

यहाँका उच्च भागहरुमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघु जस्ता साना-ठूला वस्तीहरु रहेका छन् । संरक्षित क्षेत्रको रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरु पर्दछन् ।

यो क्षेत्रमा १८ हजार ७८३ घरधुरीमा १ लाख ३ हजार ४६५ जना मानिस बस्ने गरेका डिभिजन वन कार्यालय तेह्रथुमको तथ्याङ्क छ । संरक्षित क्षेत्रको क्षेत्रफल ५८ हजार २३२ हेक्टर रहेको छ । विश्वमा ७०० भन्दा बढी गुराँसका प्रजाति यहाँ पाइन्छन् । ती मध्येको लालीगुराँस फूललाई २०१२ सालदेखि सरकारले राष्ट्रिय फूलको रुपमा मान्यता दिएको हो ।

टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन् । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरु चर्चित छन् ।

टिएमजे क्षेत्रका विभिन्न ठाउँसम्म सडकको पहुँच पुगेपछि अहिले जनसङ्ख्याको चाप समेत बढ्दो छ । यी क्षेत्रमा फैलिएका विभिन्न बजारहरुमा साना–ठूला गरी १०० भन्दा बढी होटल तथा पसलहरु खुलेका छन् । 


पुष्प दुलाल