मुग्लिन-आबुखैरेनी-पोखरा सडक विस्तार, जामुने-पोखरा खण्ड चिनियाँ कम्पनीले करिब साढे ७ अर्बमा बनाउने



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-आँबुखैरेनी -पोखरा सडकखण्ड विस्तार प्रक्रिया अघि बढेको छ । मुग्लिन-आँबुखैरेनी-पोखरा सडकखण्ड अन्तर्गतको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाउने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)की इन्जिनियर मन्दा पन्तले जामुने-पोखरा सडकखण्ड विस्तारको लागि बिहीबार ठेक्का सम्झौतासम्बन्धी आसय पत्र निकालिएको जानकारी दिइन् ।

अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा जामुने-पोखरा सडकखण्ड विस्तारको लागि प्रास्तव बुझाएको छ । प्राविधिक र आर्थिक रुपमा अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनी ठेक्का पाउन योग्य देखिएको छ । ठेक्का नपर्ने निर्माण व्यवसायलाई दाबी/विरोध गर्न र ठेक्का स्वीकृती पत्रको सम्बन्धमा सूचना प्रकाशित गरिएको पन्तले बताइन् ।

ठेक्का प्रक्रियामा कसैको दाबी/विरोध नपरेमा २०७८ बैशाखमा ठेक्का सम्झौता हुनेछ । मुग्लिन-आबुखैरेनी-पोखरा खण्ड अन्तर्गतकै पहिलो प्याकेज आँबुखैरेनी-जामुन्ने खण्डको ठेक्का २०७७ माघमै लागिसकेको छ । यो खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले प्राप्त गरेको छ । चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा मुग्लिन-पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी-जामुने सडक विस्तराको जिम्मा पाएको हो ।

आबुखैरेनी-पोखरा सडक खण्ड ८१ किलोमिटर छ । २०७६ मंसिर ३ मा सडक स्तरोन्नतिका निर्देशनालयले २ प्याकेजमा बोलपत्र आह्वान गरेको थियो ।

२०७६ कात्तिकमा एडीबीको आँबुखैरेनी-पोखरा सडक खण्ड स्तरोन्नति गर्न २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो ।

यो सडक ठेक्का लागेको तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १ वर्षको डिफेक्ट लायबिलिटी र ५ वर्षको फ्रर्फमेन्स बेस मेन्टेनेस रहेको छ ।
मुग्लिन–आँबुखैरनी खण्ड करिब ७ किमिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ ।

डेढ लेनको ९३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिनेछ । निर्देशनालयले उक्त सडकलाई दुई चरणमा विस्तार गर्दै छ ।

पहिलो चरणमा आँबुखैरेनी-पोखरा र दोस्रो चरणमा मुग्लिन-आँबुखैरेनी विस्तार गरिनेछ ।

मुग्लिन-आँबुखैरेनी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने क्रममा छ । यस खण्डमा ६७ मेगावट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह छ । सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो । जलविद्युत् गृहलाई सुरक्षित राख्न निर्देशनालयले मस्र्याङ्दी नदीको अर्को किनारबाट सडक विस्तार गर्ने गरी डीपीआर तयार पारिरहेको छ । रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्ले २०७५ चैतमा स्वीकृति प्रदान गरेको थियो । डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले प्राप्त गरेको छ ।

आँबुखैरेनी-मुग्लिन खण्डको डीपीआर पनि एमएमएम ग्रुपले पूरा गरेको हो । पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिने डीपीआरमा उल्लेख छ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ ।

विस्तारित सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर लामो हुन्छ। मुख्य सडकलाई एकअर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ । सडकको दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ। पैदल यात्रुका लागि एक/एक मिटरको फुटपाथ हुन्छ ।

सर्भिस लेन र मुख्य सडक छुट्ट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ। खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ। यी स्थानमा सर्भिसलेन र ढल निर्माण गर्नु नपर्ने भएकाले सडकको चौडा सानो हुनेगरी डिजाइन गरिएको निर्देशनालयले जनाएको छ ।


क्लिकमान्डु