आइपीओ ल्याउने तयारीमा रहेको वर्ल्डलिंकले इन्टरनेट बेचेरै साढे ६ अर्ब कमायो



काठमाडौं । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रसँगै विभिन्न कम्पनीको व्यवसाय ओरालो लागेको समयमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको व्यापार भने उल्लेख्य मात्रामा बढेको छ ।

सन् २०२० मा वर्ल्डलिंकले ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०१९ को तुलनामा ३० प्रतिशत अर्थात् १ अर्ब ५० करोड ४० लाख रुपैयाँले बढी हो ।

वर्ल्डलिंकले सन् २०१९ मा ५ अर्ब ४ करोड १० लाख रुपैयाँ र सन् २०१८ मा ४ अर्ब १२ करोड ४० लाख रुपैयाँ इन्टरनेट बिक्री गरी आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०२० मा १ अर्ब विदेशी लगानी थप गरेसँगै आम्दानी बढाउन सफल भएको हो ।

बेलायती सरकारको डेभलपमेण्ट फाइनान्स इन्स्टिच्युसन लगानीरहेको सीडीसी ग्रुपले वर्ल्डलिंकमा करिब १२ मिलियन डलर अर्थात् १ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको लगानी गरेको थियो । जसमध्ये १ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानीमार्फत् कम्पनीको १० प्रतिशत सेयर किनेको थियो ।

कम्पनीले उक्त लगानी नेटवर्क विस्तार तथा पूर्वाधार निर्माणका लागि कम्पनीले खर्च गरेको थियो । सीडीसीले १२ सयभन्दा बढी व्यवसायमा ६.५ बिलियन पाउण्ड लगानी गरेको छ ।

बजार हिस्सा ४३ प्रतिशत

वर्ल्डलिंकले इन्टरनेट सेवा प्रदायकमध्ये ४३ प्रतिशत हिस्सा ओगटेको छ । साथै मुलुकका ७३ वटा जिल्लामा १० हजार कर्पोरेट हाउसमा समेत इन्टरनेट सेवा पुर्याउन सफल भएको छ । कम्पनीका देशभर ८८ वटा शाखा सञ्चालनमा छन् ।

वर्ल्डलिंक नेपालमा इन्टरनेट सेवाप्रदायकमा सबैभन्दा अग्रणी कम्पनी हो । ग्राहकका हिसाबले इन्टरनेट बजारमा वर्डलिंकको हिस्सा ३२ प्रतिशत छ ।

एक वर्षमा ७८ हजार ग्राहक थपिए

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुस महिनासम्म वर्ल्डलिंकका ४ लाख ४१ हजार ६६३ जना ग्राहक छन् । जुन अघिल्लो वर्षको तुलनामा ७८ हजार ९१ जना ग्राहक थपिएका छन् । जुन पछिल्लो एक वर्षमा थपिएका कुल ग्राहक ३ लाख ५५ हजार २२६ जनामा २२ प्रतिशत हो ।

हाल नेपालमा कुल १३ लाख ७४ हजार ५५४ जना ग्राहकले इन्टरनेट सेवाप्रदायकसँग सेवा लिएका छन् ।

२ अर्ब २० करोड ऋणका लागि रेटिङ

कम्पनीले हालै २ अर्ब २० लाख रुपैयाँ बराबरको ऋणका लागि रेटिङसमेत गराएको छ । कम्पनीले लङ टर्म बैंक फ्यासिलिटी अन्तर्गत ७८ करोड ७० लाख १८ हजार रुपैयाँ र सर्ट टर्म बैंक फ्यासिलिटी अन्तर्गत १ अर्ब ४१ करोड २० लाख ८२ हजार रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको छ ।

आइपीओ ल्याउने तयारी

वर्ल्डलिंक कम्पनीले प्राथमिक सेयर अर्थात् आइपीओ ल्याउने तयारीसमेत गरेको छ । कम्पनीमा अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले कम्पनीले आइपीओ जारी गर्ने तयारी गरेको यसअघि नै बताइसकेका छन् ।

उनका अनुसार कम्पनीले आगामी ३ वर्षभित्र सर्वसाधारणका लागि सेयर जारी गर्ने गरी तयारी गरेको छ ।

सन् १९९६ जनवरी २१ मा प्राइभेट लिमिटेड कम्पनीका रुपमा सञ्चालन शुरुवात गरेको कम्पनी सन् २०१९ अप्रिल २४ मा मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो ।


क्लिकमान्डु