वास्तविक क्षेत्रका कम्पनीलाई पुँजीबजारमा आकर्षित गर्न बुक बिल्डिङ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले वास्तविक क्षेत्रका कम्पनीलाई पुँजीबजारमा आकर्षित गर्न बुक बिल्डिङ विधि ल्याएको बताएका छन् ।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गिरिले बुक बिल्डिङको आवश्यकता, प्रक्रिया, नीतिगत व्यवस्थाबारे प्रष्ट पारेका छन् । गिरिले वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए ।
उनले यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने उनको भनाइ छ ।
धितोपत्र निष्कासनका लागि गराएको रेटिङमा औसतभन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नसक्ने उनले बताए ।
उक्त विधिबाट आइपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ ।
साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ । पहिले अनिवार्यरुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।
यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिनाभित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दावी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालिरहेको बताएको छ ।
निर्देशक गिरीले कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न नपाइने बताए । सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले निगरानीमा राखेको उनले बताए ।