माथिल्लो तामाकोशीको सेयर मूल्य किन बढिरहेको छ ?
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य पछिल्ला दिनमा लगातार उकालो लागिरहेको छ ।
गत मंसिर १४ गतेदेखि उकालो लाग्न थालेको सो कम्पनीको सेयर मंगलबारको कारोबार सकिँदासम्म प्रतिकित्ता ७९८ मा कारोबार भएको छ ।
दोस्रो बजारमा कूल १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत छ । सोमबारसम्मको कारोवारका आधारमा सो कम्पनीको कूल बजार पूँजीकरण ७६ अर्ब ८८ करोड ३४ करोड बराबर पुगेको थियो ।
मंगलबारको कारोवारपछि कूल ८४ अर्ब ५० करोड ८२ लाख बराबरको पूँजीकरण हुन्छ । यस्तै, प्रतिकित्ता ९०० पुग्दा नै कम्पनीको कूल बजार पूँजीकरण १ खर्ब माथि पुग्ने देखिन्छ । माथिल्लो तामाकोशी खर्ब क्लबमा प्रवेश गर्ने देखिन्छ ।
गत मंसिर १४ गते प्रतिकित्ता २९६ बाट उकालो लाग्न थालेको सो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढी रहेको छ ।
कूल ३५ अर्ब लगानीमा रहने भनिएको आयोजनाको लागत बढेर ८२ अर्ब पुगेको छ । भूकम्प, भारतको नाकाबन्दी, कोरोना कहर, बाढी पहिरो, ठेकेदारको बदमासीलगायतका कारण आयोजनाको समय र लागत बढीरहेको छ ।
नेपालको सस्तो ठानिएको आयोजनाको लागत बढेपनि आगामी वैशाखको अन्तिम सातादेखि पहिलो युनिटबाट उत्पादन थाल्ने तयारी थालेपछि लगानीकर्ता सेयरका आकर्षित भएका हुन् । पहिलो यूनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको विद्युत् गृह तयारी हालतमा रहेको छ । माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको पाइप जडानको काम हाल जारी रहेको छ । सो पाइपको जडान सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको कम्पनीको सेयर मूल्य १ हजार सहजै पुग्ने देखिन्छ । आयोजनाको भौतिक प्रगति ९९.७ प्रतिशत पुगेको छ । बाँँकी रहेको भौतिक प्रगति पनि निकट भविस्यमा नै पूरा हुने भएकाले लगानीकर्ता सो कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।