पुनरकर्जाको पैसा बजारमा जाँदा अन्तरबैंक ब्याजदर एक सातामा ३.३९ प्रतिशतबाट १.३८ प्रतिशत झर्यो



काठमाडौं । एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारको भारित औषत ब्याजदर ह्वातै घटेको छ ।

बैंकिङ प्रणाली लगानीयोग्य रकम (तरलता) थपिँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर एक सातामा नै २.०१ प्रतिशत बिन्दुले घटेको हो ।

राष्ट्र बैंकका अनुसार गत बिहीबार अन्तर बैंक औषत ब्याजदर ३.३९ प्रतिशत थियो । जुन एक सातामै २.०१ प्रतिशत विन्दुले घटेर १.३८ प्रतिशत कायम भएको छ ।

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर घटेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोख्रेलले बताए ।

‘राष्ट्र बैंकले स्वीकृत गरेको एकमुस्ट पुनरकर्जा बैंकहरुले क्रमिक रुपमा लगिरहेका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसबाहेक पनि सरकारले चैत लागेपछि खर्च बढाएरको विभिन्न क्षेत्रमा वक्यौता भुक्तानी गर्दा पनि प्रणाली तरलता बढेको हो ।’

राष्ट्र बैंकले एकमुस्ट पुनरकर्जा १ खर्ब ४२ अर्ब २२ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरिसकेको छ । जसमध्ये बैंकहरुले गत सातासम्म ९२ अर्ब रुपैयाँ लगेका थिए ।

स्वीकृत पुनरकर्जामा बैंकहरुले लैजान बाँकी ५० अर्ब रुपैयाँमध्ये यससाता नै ८ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट रिलिज भएको उनले जानकारी दिए । हालसम्म बैंकहरुले स्वीकृत पुनरकर्जामध्ये १ खर्ब रुपैयाँ लगिसकेका छन् ।

‘बैंकहरुले माग अनुसार कर्जा आपुर्ति गर्न संस्थामा पर्याप्त रकम नहुँदा अर्को बैंकबाट सापटी लिन्छन्,’ उनले थपे, ‘यसरी छोटो अवधिका लागि लिइने कर्जाको ब्याजदर बैंकको आवश्यकता र माग अनुसार घटबढ भइरहन्छ ।’

प्रणालीमा तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर घट्ने र तरलता संकुचन हुँदै जाँदा ब्याजदर बढ्ने प्रचलन रहेको उनले जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा गत फागुन २६ गते ६२ खर्ब ४९ करोड रुपैयाँ तरलता थियो भने सो दिन अन्तर बैंक ब्याजदर ३.३९ प्रतिशत कायम थियो । साथै, फागुन २८ गते प्रणालीमा ६६ अर्ब ८२ करोड रुपैयाँ तरलता हुँदा ३.११ प्रतिशत अन्तर बैंक ब्याजदर कायम भएको थियो ।

यसैगरी, चैत १ गते प्रणालीमा ३४ अर्ब ५५ करोड रुपैयाँ तरलता हुँदा ३.४० प्रतिशत अन्तर बैंक ब्याजदर, चैत २ गते ६३ अर्ब १० करोड रुपैयाँ तरलता हुँदा ३.४६ प्रतिशत ब्याजदर, चैत ३ गते ६८ अर्ब ४८ करोड रुपैयाँ तरलता हुँदा ३.११ प्रतिशत ब्याजदर र चैत ४ गते ७४ अर्ब ९२ करोड रुपैयाँ तरलता हुँदा अन्तर बैंक ब्याजदर २.१८ प्रतिशत कायम थियो ।

चैत ५ गते अन्तर बैंक ब्याजदर १.३८ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु